कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
556

काठमाडौं-बारा-नेपाल–भारत पेट्रोलियम पाइपलाइनको औपचारिक रूपमा उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आ–आफ्नो कार्यालयबाटस्वीच थिचेर पाइपलाइनको उद्घाटनगरेका हुन् । उद्घाटन भएसँगै पाइपलाइनबाट नियमित रूपमा इन्धन भित्रिन सुरु भएको छ ।
नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पाइपलाइन हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज निर्माण भएको पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै पेट्रोलियम पदार्थ आयात औपचारिक रूपमा सुरु भएको छ । पाइपलाइनबाट पहिलो दिन २ हजार किलोलिटर डिजेल भित्रिएको छ ।
दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो कार्यालयमा आयोजित समारोहमा स्विच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै तेल अमलेखगन्जमा आइपुगेको थियो । प्रधानमन्त्रीद्वयले स्वीच थिचेपछि अमलेखगञ्जमा मोतिहारीका इन्डियन आयल कर्पाेरेसन( आइओसी) प्रमुखले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बोतलमा तेल हस्तान्तरण गरेका थिए । उद्घाटनको दृष्य आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल कर्पोरेसनको मोतिहारी डिपोमा स्क्रिनमार्फत प्रत्यक्ष हेर्नसक्ने व्यवस्था गरिएको थियो ।
निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्यांकी निर्माण गरिएको छ । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजेल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ । मासिक ४० करोड र वार्षिक २ अर्बभन्दा बढी बचत हुने बताइएको छ ।
भन्डारण गरिएको तेल बुधबार परीक्षण गरेर वितरण गरिने निगमले जानकारी दिएको छ । पहिलो दिन दुई हजार किलोलिटर डिजेल आएको नेपाल आयल निगमले जानकारी दिएको छ । पहिलो दिन मंगलबार दुई घन्टा मात्र पाइपलाइन सञ्चालन भएको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । बुधबारदेखि नियमितरूपमा देैनिक ३० हजार किलोलिटर डिजेल आयात हुनेछ । अव प्रतिघन्टा १६० किलोलिटर डिजेल ढुवानी गरिने छ । दैनिक १२ देखि १५ घन्टा पाइपलाइन सञ्चालन गरिने छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको दूरी ६९.२ किलोमिटर छ ।

भारत–नेपाल मित्रताको विशेष दिन !
मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रूपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन ग¥यौं । तपाईंहरू खुसी हुनुहुनेछ कि यो परियोजना निर्धारित समयभन्दा धेरै अघि नै सम्पन्न भयो ।
नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री मोदीले तोकिएको समयभन्दा अगावै पाइपलाइन निर्माण भएको उल्लेख गर्दै दक्षिण एसियाकै पहिलो क्रस ब्रोडर पेट्रोलियम पाइपलाइन निर्माणमा रेकर्ड ब्रेक भएको प्रतिक्रिष दिए । उनले भने, “पाइपलाइन निर्माणसँगै नेपाली जनताले तत्कालै राहत पनि पाएको र त्यसबाट मलाई पनि गौरवान्वित बनाएको छ ।”आफूहरूको संयुक्त प्रयासबाट दुईपक्षीय प्रोजेक्टहरूले प्रगति हासिmल गरिरहेको मोदीको भनाइ थियो । यता, प्रधानमन्त्री ओलीले पाइपलाइनबाट तेल आयात भएसँगै इन्धन आपूर्तिमा सहज हुने भन्दै ढुवानी लागत कम हुनका साथै वातावरण प्रदूषणसमेत कम हुने बताए । पाइपलाइन सञ्चालन आएसँगै उपभोक्ताले सस्तो मूल्यमा इन्धन पाउने उनको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पाइपलाइन सञ्चालन भएसँगै इन्धन आपूर्तिमा सहजता आएको बताए । अन्य ठाउँमा पनि पाइपलाइन विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
भारतीय आयल कर्पोरेसनका प्रमुख जेपी सिन्हाले दक्षिण एसियामा पहिलो क्रसबोर्डर पाइपलाइन सुरु गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको धारणा राख्दै पाइपलाइन नेपाल–भारत सुमधुर सम्बन्धको कडी भएको बताए । भारतीय आयलका कार्यकारी प्रमुख अभिजीत चौधरीले एक वर्षसम्म पाइपलाइनको मर्मतसम्भार तथा प्राविधिक ज्ञान र सञ्चालन विधिमा भारतको सहयोग रहने बताए ।
निगमका अनुसार मोतीहारी–अमलेखगन्ज पाइप लाइनको सम्झौता ५-५ वर्षमा नवीकरण हुने तेस्रो मुलुकबाट पनि नेपालले इन्धन आयात गर्न सकिने उल्लेख छ ।
आयोजना ३० महिनामा सक्ने लक्ष्य राखिएकोमा करिब डेढ वर्षमा नै सकिएको निगमले जानकारी दिएको छ । ०७४ चैतमा दुवै देशका प्रधानमन्त्रीले दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका थिए।नेपालतर्फ भने पाइपलाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।

डिजेल–पेट्रोलको मूल्य २ रुपैयाँ घट्यो
पाइपलाइन उद्घाटनकै दिन निगमले डिजेल पेट्रोल र मटीतेलमा प्रतिटिलरमा दुई रुपैयाँ मूल्य घटाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर आएकाले निगमले इन्धनको मुल्य घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०७ र डिजेल-मटीतेल प्रतिलिटरमा ९५ रुपैयाँ कायम भएको छ ।

लक्ष्मी सापकोटा-प्रकाश लम्साल