कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
226

०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्र थियो, गोरखा । भूकम्पमा ठूलो क्षति बेहोरेको गोरखा विस्तारै तंग्रिँदै छ । विपद्पछि धेरै संस्थाले तत्काल राहत र उद्धारमा सहयोग गरे पनि अधिकांश सहयोगी संस्थाहरु भने फर्किसकेका छन् ।
तर, केयर नेपाल भने अझै गोरखाको सिरानचोक गाउँपालिकामा विपद् व्यवस्थान र जीविकोपार्जनमा सक्रिय देखिएको छ । स्थानीय तहसँगको सहकार्यमा गाउँको विकास र स्थानीयको जनजिवन जोखिममुक्त र सहज बनाउने प्रयासस्वरुप दोस्रो परियोजनाले विभिन्न कामहरु गर्दै आएको छ । सन् २०१८ जुलाई १ बाट शुरु भएको प्रयास दोस्रो परियोजनाबाट आफूहरु लाभान्वित भएको बताउँछन्, स्थानीय ।

वडा नम्बर ७ की भूमिहिन मिनमाया गुरुङ परियोजनाकै कारण आफूले आवास र जीविकोपार्जनको बाटो पाएको बताउँछिन् । “उहाँहरुको सहयोगले घर बनाउन सकेँ । जीविकोपार्जनका लागि एउटा मासु पसल समेत खोलेको छु,” उनले भनिन् । गुरुङकै जस्तो अनुभव छ, कमला नेपालीको पनि । समाजमा पिछडिएर रहेर दलित समुदायको जीविकोपार्जनमा सघाउने गरी परियोजनाले कार्यक्रम गरिरहेको छ । बंगुरपालन, मौरीपालन, कृषि खेती, व्युटिपार्लर सञ्चालन, कुटानी पिसानी मिलका लागि परियोजनाले सहयोग गरिदिँदा आफूहरुको जीवन सहज बनेको उनीहरु सुनाउँछन् । संस्थाको सहयोगपछि सिरानचोक गाउँपालिका–२ मा सामूहिक बंगुर पालन गर्दै आएका छन् । जसमध्येकी एक हुन्, कमला नेपाली । बंगुर पालनबाट आफूहरु आम्दानी बढ्ने अपेक्षा रहेको उनले बताइन् ।
युरोपियन युनियनको नागरिक संरक्षण तथा मानविय सहायता विभाग र एडिसिको आर्थिक सहयोगमा केयर नेपाल, इकोे कोअपरेशन, एसएसआईडिसिकोे सहकार्यमा सञ्चालित परियोजनाबाट २ हजार ४ सय ४९ जना लाभान्वित हुनेछन् । जसमा १ हजार २ सय २५ महिला र १ हजार २ सय २४ पुरुष हुने संस्थाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु गुरुङ पुनर्निर्माण, विपद् व्यवस्थापन र जिविकोपार्जनमा संस्थाको सानो सहयोगले पनि सिमान्तकृत समुदायमा ठूलो विश्वास जगाएको बताउँछन् । “गाउँपालिका र प्रयास दोस्रो परियोजनाबीच राम्रो सहकार्य छ,” अध्यक्ष गुरुङले भने । वडा नम्बर १ केराबारी, वडा नं २ थालाजुङ, वडा नं ७ श्रीनाथकोट र वडा नं ८ जौबारीमा प्रयास दुईका नियमित कार्यक्रम सञ्चालनमा छन् । अन्य तीनवटा वटा वडा हर्मी वडा नं ३, छाप्राक वडा नं. चार,पाँच र गाँखु वडा नम्बर ६ मा पनि प्रयास दोस्रो परियोजना अन्तर्गत विभिन्न तालिम र अभिमुखिकरणका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । प्रयास दोस्रो परियोजनाका कार्यक्रम संयोजक अभिषेक ओझा आफूहरुले योजना बनाउँदा र त्यसको कार्यान्वयन गर्दा स्थानीय र स्थानीय तहसँग समन्वय गर्दा सोचे भन्दा राम्रो परिणाम आइरहेको बताउँछन् ।