रासस
मंगलबार, भदौ २४, २०७६
214

हेटौँडा-मकवानपुरको वाग्मती गाउँपालिका–९ को देउजरगएरमा सोमबारदेखि विद्युत सेवा शुरु भएको छ । लामो समयदेखि विद्युत अभाव रहेको देउजरगएरमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गरीसेवा शुरु गरिएको हो । करीब १०० घरपरिवारले आफ्नो घरमा बिजुली बत्ती बाल्न सक्नेगरी विद्युत विस्तार गरिएको वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उक्त गाउँपालिकामा दुई हजार घरपरिवारमा अझै पनि विद्युत सेवा पुग्न सकिरहेको छैन । लामो प्रयत्नपछि उक्त गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको विशेष पहलमा ५० केभिएको टान्सफर्मर राखी सेवा बिस्तार गरिएको छ । चालू आर्थिक वर्षमा सबै घरमा विद्युत सेवा उपलब्ध गराउने उनले जानकारी दिए । हालसम्म विद्युत नपुगेका घरमा सोलार र टुकीमाथि निर्भर रहनुपरेको स्थानीयवासीको भनाइ छ । त्यस्तै उक्त गाउँपालिकामा विद्युत सेवा उपकेन्द्रका लागि स्वीकृत भइसकेको र छिटो कार्यान्वयनमा आउने अध्यक्ष घलानले बताए ।