कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४
1648

मध्यपहाडी राजमार्गले छोएको देशका विभिन्न १० सहरलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी कार्यक्रमअनुसार पाँचथरको फिदिम पनि पर्दछ । नयाँ सहर बन्ने एकीकृत विकास योजना तयार भइसकेको आयोजनाका विषयमा स्थानीय उत्साहित भएका छन् । सदरमुकाम फिदिमलाई आगामी २० वर्षसम्मका लागि १ लाख जनसंख्या रहन सक्ने बनाउने सरकारको योजना छ ।
नयाँ सहर आयोजनाको उद्देश्यअनुसार २०९० सालसम्ममा फिदिममा एक लाख जनसंख्याले सुविधायुक्त सहरको उपभोग गर्न पाउने छन् । त्यसका लागि आयोजनाले अहिले भौतिक पूर्वाधारको काम धमाधम गरिरहेको छ । बाटो, भवन निर्माण, ढल व्यवस्थापनदेखि भ्यु टावर निर्माणसम्मको काम भइरहेको आयोजना कार्यालयले जानएको छ ।

आयोजनाले २० वर्षमा करिब २० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरेको छ । आयोजनाका अनुसार नेपाल सरकारको लगानीमा १० अर्ब र अन्तर्राष्टिय सहयोगमा १० अर्ब लगानी गर्न लागिएको छ ।
२०७० मा सुरु भएको कार्यक्रममा दुई वर्ष लगाएर एकीकृत विकास योजना तयार पारिएको नयाँ सहर आयोजना फिदिमका निमित्त प्रमुख दिनेशकृष्ण पोतेले जानकारी दिए । यो मार्गदर्शनको हिसाबमा तयार भएको छ । उनले भने, “एकीकृत विकास आयोजनालाई हेरेर नै सहरमा धेरै कुरा तयार हुनेछन् ।”
५ वटा पुराना र ४ वटा सडक स्तरोन्नतिका कार्यक्रमअघि सारिएको आयोजना कार्यालयले जानकारी दिएको छ । नयाँ सहरको कार्यक्रमअन्तर्गत गणेशमान सिंह स्मृति पार्कको काम भइरहेको छ । यस्तै रमिते डाँडामा भ्यु टावर बनाउका लागि ५ करोड विनियोजन गरिएको छ । पर्यटकीय तथा धार्मिकस्थलको विकास, ल्याण्ड फिल्ड साइटलगायतका कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।
सोही बजेटको अधीनमा रहेर एकीकृत विकास योजना तयार भएको हो । हाल बजार क्षेत्रमा क्रमागत बजेटसहितका योजना सञ्चालनमा छन् । यो वर्षमात्रै क्रमागत बजेटमार्फत १० योजनाको काम भइराखेको छ । यसवर्ष ११ करोड ६० लाख खर्च गर्नुपर्ने अवस्था छ । आयोजनाका अनुसार फिदिम नयाँ बसपार्क, बसपार्क जोरसाल मोटरबाटो, नेपालटार एकीकृत बस्ती विकास आयोजनालगायतका आयोजना मुख्य हुन् । यस वर्षमात्रै आयोजनाले क्रमागतबाहेकका १० योजनामा काम गरिरहेको छ ।