रासस
बुधवार, भदौ ४, २०७६
375

ललितपुर-पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिरको पुनर्निर्माणमा स्थानीय बासिन्दा आफैं जुटेका छन् । पाटनभरि भीमसेनका मुख्य ४ मन्दिर र अन्य साना २७ मूर्ति छन् ।  भारत सरकारले पुनर्निर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि स्थानीय जनताबाट पुनर्निर्माणको कदम अघि बढेको हो । ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनर्निर्माणमा सुन लेपन खर्चबाहेक ४ करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिरको पुनर्निर्माणमा स्थानीय बासिन्दा आफैं जुटेका छन् । पाटनभरि भीमसेनका मुख्य ४ मन्दिर र अन्य साना २७ मूर्ति छन् । 
भारत सरकारले पुनर्निर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि स्थानीय जनताबाट पुनर्निर्माणको कदम अघि बढेको हो । ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनर्निर्माणमा सुन लेपन खर्चबाहेक ४ करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । वैशाख १२ को भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्ताहरू चिराचिरा भएका थिए । “सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौँ स्वदेशी तथा विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर निर्माणमा अग्रसर भएका हौँ, अध्यक्ष महर्जनले भने, “पहिलो चरणमा ललितपुर महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत पाटनमा रहेका विभिन्न सङ्घसंस्था मिलेर स्थानीयवासीले नै सो मन्दिर पुनर्निर्माण गर्ने कुरा बैठकमा राख्यौं ।

महानरपालिका र प्राधिकरण प्रमुखले भारत सरकारसँग कुरा अघि बढाएपछि उहाँहरूको सकारात्मक जवाफले काम सुरु गरिएको हो ।” ‘भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति’ गठनपश्चात् मन्दिर भत्काउने काम अघि बढेको छ । सो मन्दिर पुनर्निर्माणका लागि सङ्घले बीउ रकमका रूपमा १० लाख दिने प्रतिबद्धता व्यक्त गरी हाललाई काम अघि बढाउन पाँच लाख ५० हजार सहयोग गरिसकेको बताइएको छ । यसैगरी मन्दिर पुनर्निर्माणका लागि तदर्थ समितिका सदस्यहरूले ९० हजार, ललितपुर महानगरपालिकाले एक करोड, दाताहरूबाट दुई करोड र प्रदेश नं ३ सरकारले ५० लाख दिने घोषण गरिसकेको छ । पाटनका स्थानीय व्यवसाथी तथा एभरेष्ट बैंकका अध्यक्ष वि.के श्रेष्ठले पिताका नाममा एक करोड आर्थिक सहयोग गर्नुभएको सो सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले बताए । 
“२०७६ साल असार मसान्तसम्ममा विभिन्न दाताहरूबाट ३५ लाख ५४ हजार ३४३ उठिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, “सो मन्दिर पुनर्निर्माण शुगरेको दुई वर्षमा काम समाप्त गर्ने लक्ष्य बनाएका छों ।” सो मन्दिर पुनर्निर्माणका लागि गत आव २०७५-७६ मा विभिन्न दाताहरूबाट आयस्वरुप ३५ लाख ५४ हजार ३४३ र व्ययमा २० लाख ४८ हजार ३९९ खर्च भएको सङ्घले जानकारी दिएको छ । बाँकी १३ लाख ८९ हजार २३९ र मौज्दात एक लाख १६ हजार ७०५ भने सङ्घले नेपाल इन्भेष्टमेन्ट बैंक लिमेटेडको खातामा राखेको बताइएको छ । भीमसेन मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्वपूर्ण वस्तु रेखदेखको जिम्मेवारी पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको सो कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।
‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनवासीले अघि बढाई गत असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरुआत गरेको हो । मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएका छन् ।यसैगरी मन्दिरलाई चाहिने डांची र ईंट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउनेछन् भने मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्टले गर्ने वचनस्वरुप काम अघि बढेको हो । पाँच पाण्डवका माइला भाइ भीमसेनलाई नेवारहरूले आरध्य देवका रूपमा पुज्ने गरेका छन् । सो मन्दिर पुनर्निर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गोल टोल सुधार समिति, ललितपुर महानगरपालिका, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घसंस्था लागिपरेका हुन् ।चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।
भीमसेनको मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५ औँ कला नगरी घोषणा गरिसकेको छ । पाटनका प्रसिद्ध धरोहरका रुपमा भीमसेन, कृष्णमन्दिर, चारनायारण, दरबार सङ्ग्रहालय र अशोक स्तम्भ रहेका छन् । पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो हो । भूकम्पका कारण उत्तरपट्टि ढल्केको सो मन्दिर इटालियन विशेषज्ञले अत्यन्त जोखिमपूर्ण रहेको ठहर गरी तत्काल पुनर्निर्माण गर्न आग्रह गरेको थियो भने अर्का प्राविधिक टोलीले मन्दिरका भित्तामा खतराको चिह्न पनि लगाएका थिए । भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापार फलिफाप हुने विश्वास आम व्यवसायीहरूको छ । 

सुभानु आचार्य