कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
355

ठेकेदारले अलपत्र छाडेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पूरा गर्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बै्रक ग्यारेन्टीसहित प्रक्रिया पु-याएर सम्झौता गर्न आउन मंगलबार चिनियाँ कम्पनी सिनो हाइड्रोलाई पत्र पठाएको छ ।
आयोजनको ऋणदाता एसियाली विकास बैक(एडीबी)ले चिनियाँ कम्पनीलाई बाँकी कामको जिम्मा दिन स्वीकृति दिएसँगै समितिले सम्झौताका लागि सिनो हाइड्रोलाई बोलाएको हो ।

आयोजनाको बोलपत्र मूल्यांकन समितिले सिनो हाइड्रोको प्रस्तावलाई उपयुक्त ठहर गर्दै स्वीकृतिका लागि एडीबीमा पठाएको थियो । यससँगै मेलम्ची खानेपानी आयोजनाको काम चाँडै सुरु हुने र झन्डै एक वर्षदेखिको विवाद अन्त्य हुने भएको छ ।
आयोजनाले सिनो हाइड्रोलाई बाँकी रहेको हेड वक्र्स र टनेलको काम जिम्मा दिन लागेको हो । आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेकोले बाँकी काम भदौको तेस्रो अथवा चोथौ साताबाट सुरु भइ १० महिनाभित्र सम्पन्न गर्ने मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले जनकारी दिए । “मेलम्चीको काम सम्पन्न गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिन लागिएको हो, भदौको दोस्रो अथवा तेस्रो साता कन्ट्र्याक्ट्रर छनोट गरी तेस्रो अथवा चोथो साताबाट काम सञ्चालन हुनेछ,” कँडेलले भने, “हाइड्रोलाई टनेल र हेड बक्सको काम जिम्मा दिएपछि १० महिनाभित्र काम सम्पन्न हुने छ ।”
चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आयोजनाले १ अर्ब ६६ करोड २२ लाख सम्झौता गरी बाँकी काम सम्पन्न गर्न लागेको हो । जसमा हेड बक्र्सको ९० करोड ९८ लाख ९७ हजार १ सय ९६ र टनेलको ७५ करोड २३ लाख ८४ हजार ४ सय ७६ मा सम्झौता गर्ने लागेको हो । ९६ प्रतिशत काम पूरा भएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सिएमसीले काम छोडेर गए पछि ६ महिना ढिला भएको हो । सीएमसीले छाडेसँगै टनेलको काम रोकिन गएको थियो । सरकारले निर्णय गरेपछि तालिकाअनुसार काम अघि बढिसकेको छ ।
२०७३ सालदेखि विभिन्न विवाद आउँदा काममा समस्या सिर्जना हुँदै आएको छ । साढे २७ किलोमिटर टनेलको काम अन्तिम अवस्थामा रहेको छ । टनेलको फिनिसिङ लगभग सम्पन्न भइसकेको आयोजना प्रमुखले बताए । भुइँढलान ८ सय मिटर बाँकी र टनेल माथिको सरफेस ढलान गर्न ४ सय मिटर बाँकी छ । गेटहरू जडान, पाइपलाइन तथा भेन्टिलेसनको काम पनि बाँकी छ ।
आयोजनाको लक्ष्यअनुसार नै काम पूरा हुने दाबी प्रमुख कँडेलको छ । यता, सीएमसी कम्पनीको धरौटी रकम २ अर्व १० करोड अदालतको आदेशपछि आयोजनाले जफत गरिसकेको छ । आयोजनाका अनुसार सीएमसी गएपनि नेपाल सरकारलाई आर्थिक रुपमा भने घाटा भएको छैन । कम्पनीको रकम र सामानहरू नेपालमै रहेकोले आयोजनाले आफैं पनि काम अघि बढाउन सकिने प्रमुखको दाबी छ ।
आर्थिक वर्ष २०५५-५६ देखि मेलम्ची परियोजना सुरु भएको थियो । त्यतिबेला ०६४ सालभित्र काठमाडौंमा पानी ल्याइपुर्याउने लक्ष्यसहित काम सुरु भएको थियो ।

मनिका खतिवडा