सागर परियार
शुक्रवार, श्रावण ३१, २०७६
452

जुम्ला-नेपाल विद्युत् प्राधिकरणले जुम्लाको लोडसेडिङ हटाउन डिजेल प्लान्ट जडान गर्ने भएको छ । जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले प्रतिनिधिसभाको बैठकमै जुम्लालाई महिनौंदेखि अँध्यारोमा राखिएको भन्दै उर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेपछि प्राधिकरणले डिजेल प्लान्ट जडान गर्न लागेको हो । प्राधिकरणले ३ सय किलोवाट क्षमताको डिजेल प्लान्ट जुम्ला पु-याएको छ ।
सांसद महतले आलोचना गरेको दुुई हप्तामै प्राधिकरणले जुम्लाका लागि डिजेल प्लान्ट पठाएको हो । डिजेल प्लान्टसँग एकजना प्राविधिक पनि जुम्ला पुगेका छन् । सो डिजेल प्लान्ट केही दिनमै जडान हुने प्राधिकरण जुम्ला शाखाले जनाएको छ । यसअघि सांसद महतले १ सय ६० केभीको डिजेल प्लान्ट आफ्नो कोषबाट सहयोग गरेका थिए । तर त्यो अपुग भएपछि संसद्मा आलोचना गर्दा ठूलो क्षमताको डिजेल प्लान्ट जुम्ला पुगेको हो । अब केही दिनमै जुम्ला पूर्णरूपमा उज्यालो हुने साना जलविद्यत् उपभोक्ता समितिले जनाएको छ ।
तीन दशकअघि निर्माण गरिएको साना जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्न गत कात्तिकदेखि विद्युत् आपूर्ति बन्द गरिएको थियो । तर, नयाँ मेसिन जडान गर्ने क्रममा बेरिङ भाँचिएको थियो । जसले गर्दा विद्युत् आपूर्ति सहज हुन सकेको छैन । मेसिन मर्मतका लागि धनगढी पठाइएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।