मीनकुमार नवोदित
शुक्रवार, श्रावण ३१, २०७६
294

प्रदेश–१ सरकारले एक वर्षमा ९ वटा झोलुंगे पुल निर्माण गरेको छ। 

विराटनगर-भौतिक पूर्वाधारको विकासलाई बजेटमा पहिलो प्राथमिकता राखेको प्रदेश सरकारले झोलुंगे र मोटररेबल पुल निर्माणलाई तीव्रतासमेत दिएको छ । गत आर्थिक वर्ष ०७५-७६ मा ९ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले १ सय १८ वटा झोलुुंगे पुुल निर्माण प्रक्रिया अघि सारेको थियो । जसमध्ये ९ वटा पुलको निर्माण सकेको हो । भौतिक र्पूाधार तथा विकास मन्त्रालयअन्तर्गत सडक तथा यातायात व्यवस्था महाशाखा प्रमुुख रेवतीरमण पराजुुलीका अनुसार पहाडी तथा तराईका खोलामा २ सय मिटरसम्म लामो झोलुंगे पुल निर्माण भएको छ । प्रदेशमा १ सय १८ वटा पुल निर्माणका लागि छनौट भएकामा ९ वटा पुल गत आर्थिक वर्षमा सम्पन्न भएको हो । बाँकी सबै पुुल भने एक वर्षभित्रमा सम्पन्न हुुनेछन् । पराजुलीका अनुसार १ सय ९ वटा झोलुंगे पुलको काम भने अहिले धमाधाम भइरहेको छ । “सबै पुलको ठेक्का लागेर निर्माण भइरहेको छ,” पराजुलीले भने, “चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना छ ।”
यस्तै प्रदेश सरकारले आगामी तीन वर्षभित्र १ सय १४ वटा मोटरेबल पुल निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । प्रदेश–१ मा वहुवर्षीय र आवधिक योजनाअन्तर्गत पुल निर्माण सुरु भएको छ । लामो समयदेखि पुुल बन्न नसकेका खोलामा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले मोटरेबल पुुल बनाउन सुुरु गरेको हो । निर्माण सुरु भएका पुुलको लम्बाइ २५ मिटरदेखि २ सय मिटरसम्म रहेको महाशाखा प्रमुख पराजुलीको भनाइ छ । निर्माण जारी रहेका पुुल ५ करोडदेखि ४० करोडको लागतसम्मका रहेको उनले बताए । त्यसमध्ये २४ वटा पुुल केन्द्र सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको र बाँकी पुुल प्रदेश सरकारले छनोट गरेको हो । गत आर्थिक वर्षदेखि निर्माण सुरु भएका १ सय २४ पुलमध्ये १० वटा भने गत आर्थिक वर्ष २०७५-७६ मा निर्माण सम्पन्न भएका छन् । आवश्यकता हेरेर पहाडी तथा तराईका गरी १४ वटै जिल्लामा पुुल निर्माण काम भइरहेको छ । ४० वटा पुुल गत आर्थिक वर्षमा ठेक्का लागेर काम सुरु भइसकेको पराजुलीले जानकारी दिए । “बाँकी पुल पनि केही ठेक्कामा गइसकेको र केही ठेक्का प्रक्रियामा छन्,” उनले भने ।
मुख्यमन्त्री शेरधन राईले सम्हाल्दै आएको सो मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्ष ०७६-७७ मा ६२ वटा बहुवर्षीय सडक योजना र ८७ वटा मुख्यमन्त्री ग्रामीण सडकसमेत निर्माण गर्ने योजना छ । समयमा निर्माण सम्पन्न गर्न आफ्नै क्यालेन्डर र कार्यतालिकासमेत बनाउने तयारी गरेको प्रदेश सरकारले जनाएको छ । बहुवर्षीय सडक आयोजनाका लागि ३ अर्ब १० करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले झोलुंगे पुलका लागि २० करोड गरी सडक र पुलका लागि ८ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश–१ सरकारले चालू आर्थिक वर्षका ४२ अर्ब २० करोड ४ लाख १२ हजारकोे बजेट विनियोजन गरेको छ ।