कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
248

मर्मत गर्न करिव ४७ करोड लाग्ने अनुमान

सरकारले मुलुकभर वर्षा कारण क्षतिग्रस्त पुलको मर्मत, सम्हार र निर्माणका लागि करिव ४७ करोड रूपैयाँ लाग्ने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशभर वर्षाका कारण क्षतिग्रस्त ४५ वटा पुल मर्मत, सम्हार र निर्माणका लागि करिव ४७ करोड ३४ लाख बजेट लाग्ने बताएका हुन् ।
आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकलाई जानकारी दिँदै मन्त्री महासेठले क्षतिग्रस्त पुलको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय तहसँग सहकार्य भइरहेको बताए । उनले जीर्ण सडक तथा पुलको मर्मत, सम्हार र निर्माणको जिम्मा केन्द्रीय सरकारले लिने पनि जानकारी दिए ।

यता, समितिले वर्षाका कारण क्षतिग्रस्त सडक तथा पुलको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण भएका क्षतिग्रस्त सडक तथा पुलको जीर्णोद्वार तथा पुनर्निर्माण कार्य कसले बनाउने भन्ने अन्योलता अन्त्य गरेर यथाशीघ्र निर्माण कार्यलाई तीव्रता दिन पनि सरकारलाई निर्देशन दिएको छ । सभापति कल्याणी खड्काले दसैं, तिहार र छठजस्ता चाँडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पु¥याएका सडक तथा पुलहरू पूर्णरूपमा सञ्चालनमा ल्याई नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको बताइन् ।
यसअघि बैठकमा सदस्यहरूले संघ, प्रदेश र स्थानीय तहको हानाथापका कारण क्षतिग्रस्त सडक तथा पुल निर्माणमा ढिलाई भएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।