दिपक बोहरा
सोमवार, श्रावण २७, २०७६
591

पाँचथर र तेह्रथुम भइ बग्ने तमोर नदीको किनानै किनारबाट निर्माण गर्न थालिएको कोशी करिडोरको कामले तीव्रता पाको छ । दु्रतमार्गको रूपमा पहाड र तराई जोड्ने सडकको रूपमा निर्माण गरिएको कोशी करिडोरको काम ५५ प्रतिशत पूरा भएको छ ।
पहाडलाई तराईसँग जोड्दै पहाडको आर्थिकरूपमा विकास गर्ने लक्ष्य यो आयोजनाले लिएको छ । पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेहथुम र धनकुटालाई तराई र राजधानी जोड्ने गरी यो सडक निर्माण गरिँदै छ । यो करिडोरबाट पूर्वी पहाडलाई तराई हुँदै केन्द्रीय राजधानी काठमाडौंसम्म छोटो दूरीमा पुग्न सकिने छ ।

पाँचथरको याङ्वरक गाउँपालिकाको गणेशचोकदेखि सुनसरीको चतरासम्मको १ सय ४८ किलोमिटर सडक बनेसँगै पाँचथर, ताप्लेजुङ तेह्रथुम, धनकुटाका स्थानीय लाभाविन्त हुने आयोजना प्रमुख अभिमान मुल्मीले बताए । १४८ किलोमिटरमध्ये १३५ किलोमिटर ट्रयाक ओपन गर्ने काम सकिएको छ । यो आयोजनाको करिब ५५ प्रतिशत काम भएको आयोजना प्रमुख मुल्मीले बताए ।
अहिले कोशी कोरिडोरको सातवटा प्याकेजमा ट्रयाक खोल्ने र ग्राभलिङ गर्ने काम भइरहेको मुल्मीले जानकारी दिए । मुल्मीका अनुसार कुनै सबै प्याकेजमा हिसाब गर्दा ५५ प्रतिशत निर्माण कार्य भइसकेको छ ।
करिडोरले पहाड र तराईलाई जोड्दै यहाँका बासिन्दाको जिविकोपार्जन र आर्थिक कारोबार वृद्धि गर्ने अपेक्षा गरिएको छ । पाँचथर, तेह्रथुम र ताप्लेजुङका कृषि उपज तराई पु¥याउन सहज हुने अनुमान गरिएको छ । तराइसँग सिधा सम्पर्क हुने भएपछि यहाँका कृषकलाइ फाइदा हुने अनुमान गरिएको छ ।
कोशी तथा तमोरको किनारै–किनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो । चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेश चोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको छ ।
तीन किलोमिटर खण्डमा भने वनले बाटो खन्न रोकेको छ । बाँकी खण्डमा चाँडै ट्रयाक खुलिसक्ने बताइएको छ । चालू आर्थिक वर्षमा सबैतिर ग्राबेलको काम अन्तिम चरणमा पुग्ने अपेक्षा रहेको मुल्मीले बताए । यो करिडोरअन्तर्गतका विभिन्न खोला तथा नदीमा १० वटा पक्की पुल बन्ने बताइएको छ ।
६ अर्ब १५ करोड १४ लाख रूपैयाँमा सात प्याकेजमा ठेक्का लागेको सडकको ट्रयाक निर्माणदेखि ग्राभेलस्तरसम्मको स्तरोन्नति गरिने छ । यो मध्ये आव २०७५-७६ मा ३ अर्ब ६४ करोड ११ लाख ८६ हजार बराबरको वित्तीय प्रगति भएको छ ।