लक्ष्मण ढुंगाना
मंगलबार, श्रावण ७, २०७६
278

बाँकेको खजुरा गाउँपालिकामा ग्रिन खजुरा पाइलट प्रोजेक्ट सञ्चालन गरिने भएको छ । खजुरा ग्रिन सिटीको अवधारणाअनुरूप दिगो कृषिको विकास र हरित सहरका रूपमा गाउँपालिकालाई अघि बढाउन नेपालमै पहिलो पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागिएको हो ।
परियोजना सञ्चालनका बारेमा अघि बढेको प्रक्रियासम्बन्धी खजुरा गाउँपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीले खजुरालाई हरित शहरका रूपमा अघि बढाउन उज्वेकिस्तानको ताशकेन्ट शहरमा चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेसन इन एग्रिकल्चर र गाउँपालिकाबीच ९ जुलाई २०१९ मा सम्झौता भई औपचारिक प्रक्रिया अघि बढेको बताए ।

त्यहाँ भर्खरै सम्पन्न ग्रिन ईकोनोमी सम्मेलनमा युनेस्को सिटी प्रोजेक्ट, चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेसन इन एग्रिकल्चर, डब्लुएफपी, चाइना सेन्टर फर एक्सलेन्स, युएनडीपी, आईएफडीए, एफएओ संस्थाहरूबीच साझेदारीको शुरुवात गरिएको अध्यक्ष कक्षपतीले जानकारी दिए ।
सम्झौतामा खजुरा गाउँपालिका हरित कृषि विकासको समर्थन गर्दछ भनिएको छ । त्यस्तै गाउँ र शहरी विकासको विचमा राम्रा अभ्यासहरूको पारस्परिक शिक्षा र सिकाइ आदान प्रदानको सुविधा खजुरा र चीनका सहरहरूसँग रहने बताइएको छ ।
सन् २०२० देखि लागू गर्ने गरी परियोजनाको काम अघि बढाइए पनि पाइलट प्रोजेक्टको मोडालिटी भने २-३ महिनाभित्रै थाहा हुने उनको भनाइ छ । “प्रोजेक्ट कस्तो बन्छ भन्ने २-३ महिनाभित्र थाहा हुन्छ,” उनले भने, “त्यसपछि मात्र परियोजनाका वारेमा विस्तृत कुरा थाहा हुन्छ ।” खजुरा गाउँपालिकाले विज्ञसहितको टोलीले कार्यक्रम सञ्चालनका लागि २ अर्बसम्म लगानी लाग्ने अनुमान गरेको थियो । त्यसको विस्तृत विवरण भने तयार हुन सकेको छैन । गाउँपालिकाले कृषि सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । दिगो विकास लक्ष्य पु¥याउन खजुरामा हुने पाइलट प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यसले कृषिमा रहेको बर्तमान अवस्थामा आमुल परिवर्तन आउने बताउँदै उनले सिँचाइ, उन्नत बीउ, विजन, प्रविधिको विकास गरी हालको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई सम्मुनत र समृद्ध गर्ने दाबी गरे । परियोजनाले खजुरा गाउँपालिकामा हाल व्याप्त गरिवी न्यूनीकरण गरी व्यवस्थित हरीत शहरको रूपमा विकास गरी नेपालकै नमूना शहर बन्ने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यो परियोजनाले बाँके र बर्दियाका सबै स्थानीय तहसँग पनि क्रमशः जोडिँदै लैजाने योजना रहेको छ । परियोजनाले यहाँको दिगो कृषिको विकास हुनुका साथै हरित सहरीकरणका लागि नमूनाको रूपमा अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए ।
कार्यक्रम लागू भएपछि खजुराको वातावरण स्वच्छता हुनुका साथै आधुनिक कृषि प्रणाली लागू भएर कृषि उपजको उत्पादकत्वमा वृद्धि भएर स्थानीयको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ ।
पाइलट प्रोजेक्ट सञ्चालनपछि दक्ष कृषि प्राविधिकको उत्पादन हुनुका साथै त्यसका लागि यहाँका कृषकलाई प्रशिक्षणका लागि चीन पठाउने अवसर प्राप्त हुने छ । कृषिका साथ साथै त्यसका लागि सडक, बिजुलीलगायतका पूर्वाधार निर्माणका कामसमेत हुने छन् ।