दिलबहादुर केसी
आइतवार, श्रावण ५, २०७६
602

तीन दिनभित्र सडक सुचारु नगराए ठेक्का तोड्न निर्देशन

दोलखा-खाडीचौर–चरिकोट सडक भएर यात्रा गर्नेहरू यस वर्ष पनि सास्ती भोग्न बाध्य भएका छन् । यो सडक भएर चरिकोटसम्मको यात्रा गर्न अत्यन्तै जोखिमयुक्त र अवरोध भएपछि शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको कार्यकक्षमा सर्वपक्षीय छलफलसमेत भयो ।
दोलखाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधिले सडक सहज रूपमा आवत जावत गर्न योग्य बनाउन माग गरे । प्रदेशसभाका सांसद विशाल खड्काका अनुसार सडक विस्तारका क्रममा ठेकेदारले अलपत्र पारेका कारण वर्षा लागेपछि दैनिक हजारौं यात्रुले सास्ती भोग्न बाध्य भएकाले मन्त्रालयको ध्यानाकर्षण गराएको बताए ।

उनका अनुसार तीन दिनभित्र सम्बन्धित व्यवसायीलाई सडक सुचारु गराउन सूचना गर्ने र उक्त समयमा सडक सुचारु नभए ठेक्का तोड्न निर्देशन दिएको जानकारी दिए । सडकलाई सुचारु गराउन सडक डिभिजन आफैंले काम गर्नुपर्ने पनि बताए ।
सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म ५५ किलोमिटर सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेकाले सडक अलपत्र छ । २ प्याकेजमा सडक विस्तार भइरहेको छ । दुवै प्याकेजका निर्माण कम्पनीले निर्धारित समयभन्दा निकै ढिलासम्म पनि काम पूरा नगरेको हो ।
सडक विस्तार आयोजनाको पहिलो खण्डको १० किलोदेखि १८ किलोसम्म सबैभन्दा बढी जोखिम छ । उक्त खण्डमा ठेकेदारले कालोपत्रेका लागि बेस हालेर छाडेको थियो । बेसका माटोको मात्रा बढी भएकाले अत्याधिक पानीका कारण बढी हिलो भएर अहिले त्यहाँ गाडी फस्ने गरेका छन् ।
अत्याधिक हिलो भएको र हिलोको कारण बीचबीचमा गाडी बिग्रेर बस्दा झन् सडक पूरै बन्द हुँदा दिनभर हिलो सडकमै बिताउनु परेको यात्रु केबी बोहोराले गुनासो गरे ।
सडक विस्तार आयोजनाका प्रमुख समेत रहेका डिभिजन सडक चरिकोटका प्रमुख धमेन्द्रकुमार झाले आइतबार नै सडक विभागका निर्देशकसहितको टोलीले स्थलगत निरीक्षण गर्ने जानकारी दिए । ठेकेदारले काम नगरे पनि केही दिनदेखि सडक डिभिजन आफैंले लोडर र ब्याकहोल प्रयोग गरेर हिलो फाल्ने र गाडी तान्ने काम गरिरहेको उनले बताए ।
दुई प्याकेजमा विस्तार भइरहेको सडकको पहिलो खण्डको ७ किलोमिटर कालोपत्रे भएको छ । जोखिमयुक्त ठाउँमा ग्राभेल हाल्नका लागि गिटीसमेत भण्डारण नभएकाले समस्या भएको बताए । पहिलोको तुलनामा दोस्रो खण्ड मुडेदेखि चरिकोट खण्डमा जोखिम कम छ । तर त्यहाँ खाल्डाखुल्डी पुर्न उसैको क्रसरमा गिटी भण्डारणसमेत भएको उनले बताए ।
छलफलमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, आयोजनाका उच्च व्यवस्थापनसहित संघीय सांसद पार्वत गुरुङ, प्रदेश सांसदहरू पशुपति चौलागाई र विशाल खड्का, पूर्वराज्यमन्त्री देवी खड्कासहित दोलखाका ९ वटै स्थानीय तहका प्रमुख उपस्थित थिए ।

काम सुचारु गराउन भारतीय दुताबास
पहिलो प्याकेजको काम सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले गर्दै आएको छ । त्यस्तै दोस्रो प्याकेज सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले ठेक्का पाएको छ । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको सडकको ठेक्काको ५१ प्रतिशत भारतीय कम्पनीको हिस्सा छ । तर फिल्डमा अहिलेसम्म नेपाली कम्पनीले मात्रै काम गर्दै आएका छन् ।
पहिलो प्याकेजमा पहिला सुनौलो खिम्ती र त्यसपछि गौरीपार्वतीले काम गरेका हुन् । ती दुवै नेपाली निर्माण कम्पनी हुन् । नेपाली कम्पनीले काम गर्न नसकेपछि भारतीय कम्पनीलाई नै ल्याउन वा ठेक्का तोड्न भारतीय दूतावासमार्फत सम्पर्क गर्ने आयोजना प्रमुख झाले बताए । ठेक्का तोड्न र नयाँ प्रक्रियामा जान पनि भारतीय एक्जिम बैंककै परामर्श आवश्यक पर्ने उनले बताए ।
अहिले सडक सुचारु ठेकेदारले नगरे पनि सडक डिभिजनले पछि ठेकेदारको बीलबाट सोधभर्ना गर्ने गरी काम गर्न पनि डिजेल खरिदमा समेत बजेट अभाव भएको छ ।
लामोसाँघु–जिरी सडक विस्तार आयोजनाले गत वैशाखदेखि काम बन्द गरेको भन्दै काम गर्ने भरपर्दो योजनासहित तीन दिनभित्र उपस्थित हुन २ महिना अघि पनि सार्वजनिक सूचना जारी गरेको थियो । तर त्यसबाट पनि उल्लेख्य प्रगति हुन नसक्दा अहिले दोलखा अघोषित नाकाबन्दी जस्तै भएको छ ।
पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए पनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको थियो । त्यसपछि पुनः ६ महिना म्याद थप भएको थियो ।
पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरू गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रूपमा ठेक्का पाएका छन् । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको हो ।
दोस्रो प्याकेज ७० करोड ७० लाख ३४ हजारमा ठेक्का २०७२ चैतमा सम्झौता गरेको छ । सुरुमा ५ मिटर कालोपत्रे गर्ने डिजाइनअनुसार ठेक्का सम्झौता भए पनि पछि ७ मिटर कालोपत्रे हुने गरी डिजाइन परिवर्तन भएकाले दुवैको थप भार भएको छ ।
स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।