कारोबार संवाददाता
आइतवार, श्रावण ५, २०७६
495

दमौली-गाँउ देख्दा लाग्छ कुनै असुविधा छैन, सहज यातायातको सुविधा, पक्की घरहरू र सुन्दर ठाउँ । तर विडम्बना गाउँमा अहिलेसम्म बिजुली बलेको छैन ।
तनहुँको दमौलीबाट घुमाउने जाने बुद्धसिंह मार्गमा पर्ने मास्दीगाउँमा अझैसम्म बिजुली बलेकोे छैन । सो क्षेत्रका जनता अझै पनि अन्धकारमा बस्न बाध्य छन् । विभिन्न ठाउँबाट आएर एकीकृत भई बसेका मास्दीमा ४९ घर छ । ४९ मध्ये १५ घरमा सोलार जडान गरिएको छ । आर्थिक रूपमा सबल परिवारले सोलार जडान गरी निर्वाह गरी रहेका छन् भने आर्थिक रूपमा कमजोर परिवार अझै टुकी र मैनबत्तीकै भरमा बाचिरहेको स्थानीय अमर थापाले बताए । थापाले भने, “अन्यत्र बेलुका ६ बजे साँझ पर्छ, हाम्रो यहाँ ४ बजे नै साँझ पर्छ, दिउँसो ३ बज्जा नबज्दै डाँडामा लुक्ने घाम ओझेल पर्छ न त बिजुली छ, न मोबाइल नेटवर्क ।

“सूचना, सञ्चार र प्रविधिको यति विकास भइसक्दा पनि अहिलेको समयमा हामीहरूको यो अवस्था छ,” हेमबहादुर थापाले भने । ठाउँ देख्दा बजार जस्तो छ, खाल्टे, दमौली, बैदी, कोटा, मौरीबास लगायतका स्थानमा यहींबाट गाडी छुट्छन विडम्बना अझै बिजुली छैन । रिसिङ गाउँपालिका, देवघाट गाउँपालिकाका मानिस किनमेलका लागि आउने व्यापारिक केन्द्र मास्दीमा न त बिजुली छ न त फोन टिप्छ नरबहादुर गुरुङले गुनासो गरे । विदेशबाट फर्केका उनले अहिले गाँउमा पसल गरेका छन् । पसलसँगै गाँउमा धान कुट्ने मिल सञ्चालन गर्ने सोच बनाएका उनलाई गाउँमा बिजुली नहुँदा समस्या भएको छ । स्थानीय सरकार आएपछि गाउँघर परिवर्तन हुने सोचले गाउँ फर्केका उनलाई अझै गाउँको अवस्था उस्तै हुँदा पीडा भएको छ । नजिकबाट सेती नदी बगिरहेको छ, तर त्यसलाई आवश्यकता अनुसार नजिकै रहेको बाँझो खेतबारीमा उकाल्न सकिएको छैन, कारण यहाँ बिजुली छैन उनले गुनासो गरे ।
गाउँमा बिजुलीको मात्र होइन मोबाइल नेटवर्कको पनि समस्या उस्तै छ । टुवुङमा रहेको नेपाल टेलिकम र बैदीमा रहेको एनसेलको नेटवर्क टिप्ने भए पनि अहिले त्यसले पनि काम नगरेको स्थानीय सन्तमाया गुरुङको भनाइ छ । गाउँमा स्वास्थ्य चौकी नहँुदाको पीडा त्यस्तै छ । गाउँमा प्राथमिक उपचारसम्म पाउन सकेका छैनन् गाउँलेले । ठूलो बिरामी पर्दाको परै जाओस् एउटा सिटामोल मात्र किन्न पनि दमौली पुग्नुपर्ने बाध्यता छ ।
व्यास नगरपालिकाले आगामी असोजसम्म सो क्षेत्रमा विद्युतीकरण गर्ने तयारी गरिरहेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । बन्दीपुर गाँउपालिकाको पनि केही क्षेत्र मास्दीमा पर्ने भएकाले गाँउपालिका र नेपाल विद्युत् प्राधिकरण तनहुँ शाखासँग समन्वय गरी सो क्षेत्रमा बिजुली बाल्ने तयारी भइरहेको उनले जानकारी दिए ।