कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
342

ओखलढुंगा-लगातारको वर्षाका कारण एक साता अघिदेखि अवरुद्ध भएका मध्यपहाडी र सिद्धिचरण लोकमार्ग पूर्णरूपमा खुलाउन अझै ३ दिन लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्ड र सिद्धिचरण लोकमार्गको बसेरी–घुर्मी सडक खण्ड अवरुद्ध भएपछि पहिरो हटाउन समय लाग्ने भएको हो ।
सडक अवरुद्ध हुनासाथ पहिरो हटाउन सुरु गरिए पनि यसअघि सम्भव भएको थिएन । सोमबारबाट वर्षा कम भएपछि तीव्र गतिमा सडकको पहिरो हटाउन थालिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । रातारात मध्यपहाडी र सिद्धिचरण लोकमार्गको पहिरो हटाएर ३ दिनभित्र यातायात सञ्चालन गरिने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार मध्यपहाडी लोकमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय खुर्कोटबाट ६ वटा स्काभेटर प्रयोग गरिएको छ । यस्तै सिद्धिचरण लोकमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय सिरहाले पनि स्काभेटर प्रयोग गरिरहेको छ ।
पहिरो जतिसक्दो चाँडो हटाउनका लागि जिल्लाका सांसदले सडक विभागमा दबाब दिइरहेका छन् । एक साता लामो समयदेखि सडक अवरुद्ध हुँदा ओखलढुंगा, सोलुखुम्बु र खोटाङका बासिन्दालाई आवतजावत गर्न समस्या हुँदै आएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दुवै सडक अवरुद्ध हुँदा दुवै सडकमा २५ किलोमिटरभन्दा बढी जोखिमपूर्ण तरिकाले हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता छ ।