सागर परियार
बुधवार, श्रावण १, २०७६
274

जुम्ला-उपभोक्ता समितिले निर्माण गरेका सडक मापदण्ड विपरीतका भएको पाइएको छ । जुम्लाको तिला गाउँपालिकामा स्थानीय उपभोक्ता समितिले बनाएका सडक मापदण्डविपरीत पाइएको हो । अनुगमनका क्रममा ठेक्कामा बनेका भन्दा उपभोक्ता समितिले निर्माण गरेका सडक मापदण्ड विपरीतका देखिएको हो । प्रत्येक ग्रामीण सडकको चौडाइ कम्तीमा पनि ५ मिटर हुनुपर्ने प्रावधान भए पनि उपभोक्ता समितिले यसलाई पालना गरेका छैनन् ।
तिलाका ३१ वटा गाउँलाई सडक सञ्जालमा जोड्ने कार्य भइरहेको छ । तर अधिकांश सडक साढे २ देखि तीन मिटर चौडाइका छन् । उपभोक्ता समिति र इन्जिनियरको मिलोमतोमा मापदण्डअनुसारका सडक निर्माण नगरेको पाइएको तिला गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन संयोजक विष्णुमाया बुढाले बताइन् ।

रारा हुँदै पोर्खी गाउँ जाने सडक ठेक्कामार्फत निर्माण गरिएको थियो । तर उपभोक्ता समितिले आफूहरूलाई काम दिन भनेपछि पोर्खीदेखि घोडे महादेवसम्म जाने सडक निर्माणको जिम्मा उपभोत्ता समितिलाई दिइएको थियो । तर सडक निर्माणमा भने उपभोत्ता समितिले बदमासी गरेको भेटिएको संयोजक बुढाले बताइन् । “उपभोक्ताले बनाएको सडक बढीमा तीन मिटर चौडाइको मात्र भेटिएको छ,” उनले भनिन्, “झन्डै २५ लाख रूपैयाँको लागतमा निर्माण भएको सडक गोरेटो बाटो जस्तै छ ।” ईन्जिनियर जनक रोकायाले भने सडक गुणस्तरीय भएको भन्दै भुक्तानीका लागि सिफारिस गरेको भेटिएको उनले बताइन् ।
स्थानीय कमल रोकायाले सडक निकै साघुरो भएको भन्दै मापदण्डअनुसार निर्माण गर्न दबाब दिँदा पनि सुनुवाइ नभएको बताए । उनले उपभोत्ता समितिले बजेट अनुसारको सडक निर्माण नगरेको आरोप लगाए ।
मापदण्डविपरितका सडक बनाइएपछि पोर्खी र घोडेका बासिन्दा आक्रोसित भएका छन् । गाउँपालिका र प्राविधिकको स्टिमेटअनुसार सडक निर्माण नभएकाले गाउँपालिकाले भुक्तानी रोकिदिएको उपाध्यक्ष बिष्णुमाया बुढाले जानकारी दिइन् ।
पूर्वाधार निर्माणका लागि स्थानीय सरकारले छुट्याएको करोडौं बजेट मध्य उपभोक्ताबाट झन्डै ३० प्रतिशत बजेट बराबरको सडक निर्माण गरिएको छ । जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा उपभोत्ता समितिबाट निर्माण भएका ग्रामीण सडक अधिकांश मापदण्डविपरीतका छन् । यसले वस्तीसमेत जोखिममा परेको कतिपयको गुनासो छ ।