कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
533

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया आयोजना सञ्चालनमा आएको छ । मंगलबार उर्जा तथा जलस्रोत मन्त्रालयमा पत्रकार सम्मेलन गरी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रानीजमरा कुलरिया आयोजना र सिक्टा सिँचाइ आयोजनामा भएको प्रगतिका विषयमा जानकारी दिएका हुन् । कैलालीमा रहेको रानीजमरा आयोजना सञ्चालनमा आएपछि १४ हजार ३ सय हेक्टर जमिन सिञ्चित हुने उनले जानकारी दिए ।
१४ हजार ३ सय हेक्टर प्रणालीलाई स्तरोन्नति गरेर ३८ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने भन्दै उनले आयोजनाअन्तर्गतको इन्टेक जडान गर्नुपर्ने ८ वटा गेटमध्ये हाल ३ वटाको काम सम्पन्न भइसकेको पनि बताए । विश्व बैंकको ऋण अनुदानमा सम्पन्न भएका राष्ट्रिय गौरवको रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना मंगलबारबाटै सञ्चालनमा आएको पनि मन्त्री पुनले बताए ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना ३८ हजार हेक्टर जमिनमा सिँचाइ पु-याउने लक्ष्यका साथ निर्माण गरिएको हो । मंगलबारदेखि सञ्चालनमा आएको उक्त आयोजनाबाट हाल १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने गरी नहरमा पानी पठाइएको छ । कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानीजमरा र कुलरिया सिँचाइ प्रणालीलाई वृहत सिँचाइका रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण गरेको हो ।
एक सय वर्षभन्दा पहिलेदेखि यी तीन वटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा १९८५ सालमा कर्णाली नदीमा आएको ठूलो बाढीले तीन वटै कुलोमा क्षति पु-याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण अघि बढाएको थियो । करिब २७ अर्ब रूपैयाँको लगानीमा आयोजनाको काम सम्पन्न भएको हो ।
यस्तै, २०६३ सालबाट निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना पनि मंगलबारदेखि नै सञ्चालनमा आएको उनले बताए ।
तत्कालै ५ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने गरी नहरमा पानी पठाएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । २५ अर्बको लागतमा उक्त सिँचाइ आयोजना निर्माण सम्पन्न भएको हो ।

नेपालको विद्युत् भारत निर्यात

अविरल वर्षाका कारण कुलेखानीको ड्याम भरिएपछि पूर्णसञ्चालनमा रहेका कारण नेपालको विद्युत् भारतमा निर्यात भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पत्रकार सम्मेलन गरी नेपालको विद्युत् भारतमा निर्यात भएको जानकारी दिएका हुन् ।
नेपालबाट भारततर्फ सोमबार १ सय ५० मेगावाट विद्युत् निर्यात भएको र मंगलबार २ सय मेगावाट विद्युत् निर्यात भएको उनले बताए । नेपालका नदीमा पानीको बहाव प्रशस्त भएको र पूर्णक्षमतामा विद्युत् आयोजना सञ्ंचालन भएसँगै भारततर्फ विद्युत् निर्यात भएको भन्दै उनले यसअघि नै नेपाल र भारतबीच विद्युत् व्यापार तथा इनर्जी बैंकिङसम्बन्धी सम्झौता भइसकेकाले नेपालमा विद्युत् उत्पादन बढी हुने बित्तिकै भारततर्फ निर्यात गर्न सम्भव भएको उनको भनाइ थियो ।
यसबाट सरकारले इनर्जी बैंकिङको अभ्यास सुरु गरेको भन्दै मन्त्री पुनले पछिल्ला ३ दिनमा ५ सय मेगावाट बिजुली भारत पठाइएको जानकारी दिए । ‘पहिलो दिन १५० र दोस्रो दिन २०० मेगावाट बिजुली भारत पठाउन सफल भएका छौं,” पुनले भने, “योसँगै भोलिका दिनमा नेपालमा उत्पादन भएको बिजुली भारतमा बेच्न सकिन्छ भन्ने कुरा प्राविधिकरूपमा प्रमाणित भएको छ ।”
सामान्यतया अहिले नेपालमा १२१५ मेगावाट बिजुलीको माग हुँदै आएको थियो । वर्षाका कारण उक्त माग घटेर ६५० मेगावाटमा झरेको छ । बिजुली बढी भएपछि भारतलाई बिक्री गरिएको हो । कुलेखानी जलविद्युत् आयोजना २४सै घन्टा चलाएर त्यहाँबाट उत्पादित ९२ मेगावाट र भारतबाट आउने १५० मेगावाट बिजुली भारतलाई नै बेचिएको हो । भारतबाट आएको बिजुली नेपालको राष्ट्रिय प्रसारणलाइनमा जोडिने वित्तिकै फेरि त्यसलाई भारत नै पठाइएको हो ।