कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
524

निर्माणको अन्तिम चरणमा पुगेको १३२ केभीको काबेली करिडोर प्रसारणलाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा अवरोध भएको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एस्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिका कारण निर्माणको काममा पाँच दिनदेखि अवरोध भएको हो । भगवतीले प्रसारणलाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर, भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरूले अन्तिम चरणमा पुगेको प्रसारणलाइन निर्माणको काम अवरुद्ध पारेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्रसारणलाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२-३३-११ केभी सवस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा छन् । तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।

कोबेली करिडोर प्रसारणलाइनमा जोडिने जलविद्युत् आयोजनाको प्रवद्र्धकले प्रसारणलाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रूपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “प्राधिकरणले प्रसारणलाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरूले नियोजित रूपमा काममा अवरोध गरेको देखिन्छ,” उनले भने ।
सो प्रसारणलाइनको रैराङले पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् कावेली करिडोर प्रसारणलाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) आगामी १ साउनमा छ ।
यसैगरी अमरपुर सवस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना जोडिने छ । प्राधिकरणसँग पीपीए अनुसार आयोजनाको आरसीओडी गत ९ वैशाख हो । दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैंले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको बताए ।
पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारणलाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारणलाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।
कावेली करिडोर प्रसारणलाइन निर्माण करिव १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारणलाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काम ढिलाइ भएको हो । ३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।