कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
561

धुर्मुस–सुन्तली एकीकृत बस्ती


सिन्धुपाल्चोक-२०४३ साल चैत ६ गते मदिरा बनाउनका लागि कोदो पकाउँदा आगो घरमा सल्किएपछि पुरै गाउँ जलेको सम्झँदा मेलम्ची नगरपालिका–८ गिरानचौरका सिंंगेमान तामाङ अझै झस्कन्छन् । डरलाग्दो गरी आएको हावासँगै बढेको आगोको झिल्कोले खरानी तुल्यायो उनको सिंगो गाउँ ।
सिंगो गाउँ जलेको बिर्सिन दसकौं लाग्यो गिरानचौरवासीलाई । विस्तारै तंग्रिन थालेको बस्तीमा त्यो विपद पुरानो नहुँदै १२ वैशाख २०७२ को भूकम्पले फेरि उही गतिमा पु¥याइदियो । भूकम्पपछि चैनसँग बस्न नसकेका गाउँवासी अहिले भने निकै खुशी छन््–कारण उनीहरूले नमूना एकीकृत बस्ती पाएका छन् ।
दुई वर्षअघि धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा गिरानचौरमा ६५ परिवारले सुविधासम्पन्न घर र एउटा सामुदायिक भवनसहित आधुनिक बस्ती पाएपछि अब उनीहरूमा विपदको भय छैन । “गाउँ जलेको दृष्य नमेटिँदै भूकम्पले फेरि उही हालतमा पारेको थियो,” स्थानीय ८० वर्षिया सेती तामाङले भनिन्, ”अब हामीलाई डर छैन, आगोले गाउँ जलाउन सक्दैन, भूकम्पले घर ढाल्न सक्दैन ।”
तामाङ समुदाय रहेको धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत बस्ती जिल्लाकै नमूना बस्तीका रूपमा कहलिएको छ । लहरै एकनासका घरले बस्तीलाई शोभा बढाएको छ । “बस्ती बनेपछि सबैजना एकै समुदायमा मिलेर बस्नुपर्नेरहेछ भन्ने भावना पलाएको छ,” स्थानीय उजार तामाङले भने, “समाज मिल्दा आपतमा पनि सहज हुने रहेछ, अन्य गाउँवासीको सहयोगसमेत पाइँदोरहेछ ।” बस्ती हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेकाले नयाँ जन्ममा नयाँ बस्ती पाएको अनुभूति हुने गरेको उनले सुनाए ।
गाउँवासीले गिरानचौर पुग्ने जोकोहीलाई बौद्ध परम्पराको ध्वजा अगाडि तामाङ संस्कृतिअनुसार स्वागत गर्ने गरेका छन् । निलो, सेतो रंगले सजिएको बस्तीका हरेक घरअगाडि फूल रोपिएको छ । यहाँ आइपुग्ने पर्यटकलाई गाउँवासीले सत्कार गर्ने गरेका छन् । उनीहरूले ‘धुर्मुस–सुन्तली एकीकृत बस्तीमा स्वागत छ’ भन्दै बस्ती र घरमा प्रवेश गराउँछन् ।
पूरा तामाङ समुदायलाई एकीकृत बस्तीका सबै आवास बाल मैत्री, वातावरण मैत्री, भूकम्प प्रतिरोधक, पहिरो निरोधक, अपांगमैत्री छन् । हरेक घरमा चार वटा कोठा छन् भने सिलिङमा सामान भण्डारण गर्ने गरिएको छ । सबै घरभित्र ट्वाइलेट, बाथरुम र घर अगाडि बगैंचा फैलाउँदै लगिएको एकीकृत बस्तीका व्यवस्थापन समितिका सचिव लालबहादुर वाइबा सुनाउँछन् । “बस्तीभित्र बाख्रा, कुखुरा, पशुपालन गर्न निषेध छ । त्यसैले अधिकांशले वरीपरीको जग्गामा गोठ बनाएका छन्, जग्गा नहुनेलाई केही समस्या भएको छ,” समितिका सचिव वाइबाले भने ।
कृषिमा निर्भर रहने समुदायलाई एकीकृत बस्तीको निमयले बाँधेपछि केही असहज भएको उनले प्रष्ट्याए । बस्तीमा चौपाया राख्न नपाइने भएपछि गाईबस्तुको स्याहार गर्न अलि समय लाग्ने गरेको उनको अनुभव छ । तर, चौपाया, हाँस, कुखुरा नहँुदा निकै सफा देखिएको छ । बस्तीलाई ‘ए’ ‘बी’, ‘सी’ गरी तीन ब्लकमा विभाजित गरिएको छ । खानेपानी र घरपिच्छै धाराको व्यवस्थापन भएपछि सहज बनेको छ ।
फाउन्डेसनले जनस्तरबाट ६ करोड १७ लाख एक हजार एक सय ३९ रूपैयाँ संकलन गरेको थियो । सबै घर निर्माण गर्न ५ करोड १३ लाख ८५ हजार एक सय ८७ रूपैयाँ खर्च भएको परियोजनाले जनाएको छ । तीन वटा सार्वजनिक शौचालय र पार्किङस्थलदेखि बालबालिकाको मनोरंञ्जनका लागि चिल्र्डेन पार्कसमेत बस्तीमा छ ।

किशोर बुढाथोकी