भीम गौतम
शुक्रवार, असार २७, २०७६
499

भारतसँग ग्रीड सिंक्रोनाइज

 

नेपाल र भारतबीचमा ग्रीड सिंक्रोनाइजका लागि नेपालका आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली (एसपीएस) जडान गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) बीच भारतस्थित भएको बैठकले एसपीएस कार्यान्वयन प्रतिवेदन स्वीकृत गरेसँगै ग्रीड सिंक्रोनाइजका लागि आठ स्थानमा यस्तो प्रणाली जडान हुने भएको हो । बैठकले ग्रीड सिंक्रोनाइजका लागि एसपीएसलाई पूर्वसर्तको रूपमा लिइन्छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार बैठकबाट स्वीकृत कार्यान्वयन प्रतिवेदनअनुसार ग्रीड सिंक्रोनाइजका लागि पूर्वसर्तको रूपमा लिइने एसपीएस नेपालका आठ सवस्टेसनमा जडान गरिनेछ ।  नेपालका ढल्केवर, चपुर, हेटौडा, भरतपुर, बुटबल, लमही, भक्तपुर र कामना सवस्टेसनमा ग्रीड सिंक्रोनाइजका लागि एसपीएससहित कम्युनिष्टकेसन सिष्टम जडान गरिने प्राधिकरणले जनाएको छ । ऊर्जा व्यापार सम्झौता (पीटीए)बाट गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को बैठकले दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइनको ग्रीड सिंक्रोनाइज गर्न नेपालका प्रतिक्रियाहरूलाई समेत समावेश गरेर त्यसलाई अन्तिम रूप दिन विषयमा सहमति भएको थियो । यसलाई कार्यान्वयन गर्न भारतको पावर ग्रीड कम्पनी र पावर सिष्टम अपरेसन कर्पोरेसनका विज्ञहरूको टोलीले नेपालमा गत सेक्टेम्बरमा नेपालका मुख्य मुख्य सवस्टेसनहरूमा तथा भारत प्रेषण केन्द्रमा भ्रमण गरी प्राविधिक प्रतिवेदन तयार गरेको थियो भने यसमा नेपालका प्रतिक्रियाहरू समेत समावेश गरेर अन्तिम रूप दिइएको थियो ।    प्रतिवेदनअनुसार नेपालको भार प्रेषण केन्द्र र भारतको राष्ट्रिय भारप्रेषण केन्द्रबीचमा सिधै हटलाइन डाटा र भ्याइस कम्युनिकेसनका साथै दुई ग्रीड सिंक्रोनाइज (एउटै) भएर अपरेसन हुने भएपछि अपरेसनल इस्युमा छलफल गर्नका लागि सिच्यूचाटारमा भीडीयो कन्फरेसन्स सुविधा जडान हुनेछ । एसपीएसहित यी उपकरणहरू जडान भएपछि मात्र ग्रीड सिंक्रोनाइज हुनेछ । प्रतिवेदनअनुसार वार्षिक रूपमा मर्मतलगायतमा लाइन जाँदा दुवै पक्षले स्वीकृत गरेर मात्र गर्नुपर्ने लगायतमा बुँदामा समेत बैठकमा सहमति भएको छ । सबै उपकरणहरूका लागि लाग्ने लगानीबारे भने टुंगो लागिसकेको छैन । बैठकले एक महिनाभित्र कुल लाग्ने लगानीको समेत टुंगो लगाउने सहमति भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित बैठकमा नेपालको तर्फबाट प्राधिकरणका बज्रभुषण चौधरी, जगदिशश्वर मानसिंह र प्रवल अधिकारी तथा ऊर्जा मन्त्रालयका सागर गौतम सहभागी भएका थिए ।अगष्ट १६ तारिखमा नेपालको पहिलो ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइन २२० केभीमा चार्ज भएको थियो । आगामी डिसेम्बरसम्ममा ढल्केबर सवस्टेसन ४ सय केभीमा चार्ज हुनेछ । प्राधिकरणका अनुसार ४००÷२२० केभीका तीन वटा ३१५÷३१५ एमभीएका ट्रान्सफर्मर ढल्केबर सवस्टेसनमा जडान हुनेछन् । डिसेम्बरमा ४०० केभीमा चार्ज भएपछि त्यसलाई आवश्यकता अनुसार अपडेट  गर्नुपर्नेछ । सिंक्रोनाइजसँगै दोस्रो बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन समेत जोडिएको छ । एउटामात्र प्रशारण लाइन हुँदा समस्या आएमा विद्युत् आदानप्रदामा समस्या आउने भएकोले भारत पक्षले दोस्रो बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणमा दुवै देशले जोड दिँदै आएका छन् । एकपटक भारत–वंगलादेशको विद्युत् प्रणालीमा समस्या आएपछि वंगलादेश पूर्ण रूपमा अन्धकारण भएको थियो तर विज्ञहरू नेपाल र भारत तथा भारत र वंगलादेशबीचको अन्तरदेशीय प्रसारण लाइनको प्रणाली फरक फरक भएकोले त्यस्तो समस्या नआउने बताउँछन् । विज्ञका अनुसार, वंगलादेश र भारतबीचको अन्तरदेशीय प्रशारण लाइनको एचभीएसी छ भने भारत वेरामपुर र वंगलादेशको भेरामारा जोड्ने एचभीडीसीमा रहेको छ । सिंक्रोनाइज भएपछि नेपालमा भएको फल्टले भारत र भारतको फल्टले नेपालको प्रणालीको प्रणाली ध्वस्त हुने समस्यालाई सम्बोधन गर्ने गरी एसपीएस जडान गर्ने भएकोले त्यस्तो समस्या आउने र समस्या आएमा एउटा सानो एरियामा मात्र आउने उनीहरूको भनाइ छ ।
 

के हो ग्रीड सिंक्रोनाइज ?

विद्युत् आदानप्रदानका लागि नेपाल र भारतबीच एउटै सिष्टम हुने प्रणाली नै ग्रीड सिंक्रोनाइज हो । ग्रीड सिंक्रोनाइजपछि हाल नेपालले भारतबाट विभिन्न नाका हुँदै विद्युत् आयात गर्ने गरेकोमा एउटै र एकीकृत हुनेछ । हाल टुक्रा–टुक्रामा रहेको विद्युत्् प्रणाली सिंक्रोनाइज भएपछि सन्तुलित रूपमा माग र आपूर्ति प्रणाली सञ्चालनका लागि सहज हुनेछ । प्राधिकरणका अनुसार नेपाल र भारतको केन्द्रीय ग्रीडबीच सिंक्रोनाइज हुन विशेष सुरक्षा प्रणाली (एसपीएस) तथा प्राधिकरण भारप्रेषण केन्द्र (एलडीसी)बीच प्रत्यक्ष सञ्चार प्रणाली जडान हुनुपर्छ भने तथ्यांक र आवाज (भ्वाइस) कम्युनिकेसन पनि जोडिनुपर्ने छ ।