कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
341

रिडी हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको साढे ८ मेगावाटको सौर्य (सोलार) विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बैंक अफ काठमाडौंको अगुवाईमा सिटिजन्स इन्टरनेशनल र नेपाल बंगलादेश बैंकले ऋण लगानी गर्न गर्न सम्झौता भएसँगै वित्तीय व्यवस्थपान भएको हो । विद्युत् विकास विभागबाट धेरै सोलार आयोजनाले अनुमतिपत्र (लाइसेन्स) लिएपनि वित्तीय व्यवस्थापन भएर निर्माणमा जाने लागेको ग्रीड कनेक्सन हुने यो सबैभन्दा ठूलो सोलार आयोजना हो ।
सोलार आयोजनामा १० करोड चालु पुँजीसहित बैंक अफ काठमाडौंले ३६ करोडका साथै सिटिजन्स र नेपाल बंगालादेश बैंकले १५÷१५ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । १६ करोड ४६ लाख रुपैयाँ कम्पनीको स्वपुँजी लगानी भने कम्पनीले गर्ने छ । ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा मंगलबार कम्पनीका अध्यक्ष गुरु न्यौपाने र बैंक अफ काठमाडौंका कर्जा प्रबन्धक अनिल श्रेष्ठले हस्ताक्षर गरे ।

रूपन्देहीको तिलोतमा नगरपालिकास्थित शारदा माध्यामिक विद्यालयको २६ विघा जग्गा ३० बर्षका लागि लिजमा लिएर सोलारको प्लान्ट राख्न लागेको अध्यक्ष गुरु न्यौपानेले जानकारी दिए । “खेती नहुने जमिनलाई उपयोग गरेर प्लान्ट बताउँदैछौ, सकेसम्म सोलार निर्माण गर्दा खेतीयोग्य जमीनमा बनाउनु हुँदैन भन्नेमा हामी सजग छौ,” उनले भने ।
नौ महिना अर्थात २०७६ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाअन्तर्गत ३२ हजार सोलार प्यानल जडान हुनेछ । आयोजना ईपीसी (अध्ययन, खरिद र निर्माण) मोडलमा निर्माण गर्न भारतको जिइटी एण्ड डी इण्डिया लिमिटेड कम्पनीसँग ठेक्का सम्झौता भएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग प्रति युनिट ७.३० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरिसकेको छ । आयोजनाबाट वार्षिक १ करोड ४५ लाख १० हजार ५ सय ८४ किलोवाट घन्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । विद्युत् उत्पादनबाट कम्पनीले वार्षिक १० करोड ५९ लाख रुपैयाँ आम्दानी गर्नेछ ।