कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
364

पर्यटकीयस्थलको रूपमा रहेको आँबुखैरेनी–५ स्थित छिम्केश्वरी मन्दिर मनकामना मन्दिरकै शैलीमा पुनर्निर्माण भइरहेको छ ।


दमौली-तनहुँकै अग्लो छिम्कालेकमा ढुंगाको गारो लगाई बनाइएको मन्दिर जीर्ण भएपछि आँबुखैरेनी गाउँपालिकाले पुनर्निर्माण सुरु गरेको हो । गाउँपालिकाले मन्दिरका लागि २० लाख बजेट विनियोजन गरेपछि गत फागुनदेखि मन्दिर पुनर्निर्माणकार्य सुरु गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।

सडक नपुगेकाले निर्माण सामग्री ढुवानी गर्न कठिन हुँदा निर्माणकार्य तीव्र गतिमा अघि बढ्न नसकेको गुरुङले बताए । “दैनिक १२ जना कामदारले काम गर्दा पनि अपेक्षित रूपमा काम अघि बढ्न सकेको छैन,” उनले भने ।
आँबुखैरेनीदेखि १९ किलोमिटर लाब्दी गाउँसम्म कच्ची सडक पुगे पनि त्यहाँबाट करिब १२ किमिमाथि मन्दिरसम्म निर्माण सामग्री मजदुर लगाएर बोक्नुपर्ने बाध्यता छ । छिम्केश्वरी क्षेत्रमा पानीको पनि समस्या छ । वर्षायाममा आकाशे पानी जम्मा गरेर मन्दिर निर्माणकार्य गर्नुपरेको छ गुरुङले दुःखेसो पोखे ।
गाउँपालिकाबाट प्राप्त बजेटमा हाल मन्दिरको पछाडि भागबाट गारो लगाउने, मन्दिरको चारैतिर भुइँ ढलान गरी पिल्लर उठाउने लगायतका काम भइरहेको उनले जानकारी दिए ।
३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको निर्माण सम्पन्न गर्न ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मन्दिरको धार्मिक महत्व र भौगोलिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले गुरुयोजना बनाएर कार्य सुरु गरेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।
मन्दिरको पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ प्राप्त भएको छ । प्रदेशबाट प्राप्त रकमबाट मन्दिरको गेट, मन्दिर परिसरमा पोखरी निर्माण, ढुंगा छाप्ने, मन्दिरमा पुग्ने ७ सय मिटर बाटोमा सिँढी बनाउने काम भइरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुुरुङले जानकारी दिए । “जेठको अन्तिम साताबाट सुरु भएको काम करिब ८५ प्रतिशत सकिएको छ, यहाँ मोटरबाटोको सुविधा नभएकाले सबै निर्माण सामग्री बोकेर ल्याउनुपर्दा हामीलाई समस्या भएको छ,” उनले गुनासो गरे ।
प्रायः सधैं बादलको घुम्टो ओढिरहने छिम्केश्वरी महाभारत शृंखलाको सबैभन्दा अग्लो पहाड भएको दाबी गर्दै गुरुङले छिम्केश्वरीबाट उत्तरतर्फ मनोरम हिमालका दृश्य देखिनुका साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिने गुरुङले बताए ।
छिम्केश्वरी, मनकामना, अकला, थानीको थान, ढोरबाराही, गोरखाकालिका र छाब्दीबाराही ६ जना दिदीबहिनी मानिन्छ ।
अरु दिदीबहिनीले सुँगुरको बलि खाएकाले छिम्केश्वरी रिसाएर ढाड उल्टा फर्काएर बसेकी हुन् भन्ने किंवदन्ती रहेको मन्दिरका पुजारी धनबहादुर गुरुङले बताए । प्रदेश सरकारद्वारा प्रस्तावित प्रदेशको ११० वटा पर्यटकीय गन्तव्यस्थलमध्ये छिम्केश्वरी मन्दिर एक हो । छिम्केश्वरी माईको मन्दिर समुद्र सतहबाट करिब २ हजार १ सय ३४ मिटर उचाइमा पर्छ ।