कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
541

इलाम-असार महिनामा धेरै पानी पर्छ । तर यस वर्षको असारमा पर्याप्त वर्षा हुन नसक्दा किसान त मारमा परेका छन् नै हाइड्रो सञ्चालकहरू पनि उत्तिकै घाटामा छन् । पर्याप्त पानी नपर्दा खोलामा पानीको सतह घटेर हाइड्रोको उत्पादनमा कमी आएसँगै सञ्चालकहरू घाटामा गएका हुन् । हिउँदमा सुकेका खोला खोल्सा असारको तस्रो साता वितिसक्दा पनि बढ्न सकेका छैनन् ।
खोलामा पानीको बहाव वढ्न नसक्दा हाइड्रोको समेत उत्पादन बढ्न सकेको छैन । हाइड्रोले क्षमता बमोजिम उत्पादन बढाउन नसक्दा घाटामा गएका छन् । बर्खा याममा बढ्नुपर्ने उत्पादन अझ घटेको हाइड्रो सञ्चालकहरू बताउँछन् । माई नगरपालिकामा रहेको सानिमा माई हाईड्रो पावर कम्पनीको उत्पादन क्षमता २२ र क्यास्केटको ७ गरेर २९ मेगावाट हो । तर यो हाइड्रोले ९ मेगावट मात्र उत्पादन गरिरहेको आयोजनाका वातावरण तथा जनसम्पक अधिकृत देवराज गुराँगाईले जानकारी दिए । यो उत्पादन एक तिहाई भन्दा कम भएको उनको भनाइ छ । उनका अनुसार यस समयमा पनि हाइड्रो नाफामा जान नसकेको बताए । बरु उल्टै घाटा हुन थालेको उनी बताउँछन् ।

हाईड्रो पावरका प्रवन्धक गुराँगाईले वर्षा कम भएपछि मेसिनसमेत चल्न नसक्ने अवस्थामा पुगेको बताए । तीनवटा मेसिन मध्ये एउटा मात्र मेसिन चलिरहेको उनी बताउँछन् । जुन बेला नाफा कमाउने सिजन हो यही समयमा उत्पादन बढ्न नसक्दा हाइड्रो सञ्चालकहरू मारमा परेको उनी बताउँछन् ।
त्यस्तै इलामको सन्दकपुरमा सञ्चालित माइभ्याली हाइड्रोपावर लिमिटेडले माइखोलामा दुईवटा आयोजना सञ्चालनमा ल्याएको छ । माथिल्लो अपरमाई जलविद्युत् आयोजना (९.९८) र माथिल्लो माई सी (६.१) । यी दुवै आयाजनाले पनि करिव आधा मात्र उत्पादन गरिरहेको कार्यकारी निर्देशक प्रधानको भनाइ छ । नेपाल विद्युत प्राधिकरणसँग जुन सम्झौता गरिएको थियो तर पुरा गर्न नसक्दा आफूहरू मारमा परेको हाइड्रो सञ्चालकहरू बताउँछन् ।
इलामकै पुवाखोला जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादनमा कमी आएको छ । बर्षा कम भएका कारण खोलामा पानी कम हुँदा गत वर्षको तुलनामा २० प्रतिशत विद्युत् उत्पादन क्षमता घटेको आयोजनाका कार्यकारी निर्देशक मधुकर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसर ४ मेगावाट क्षमताको यो विद्युत् उत्पादन केन्द्रले ७७ देखि ८० प्रतिशत मात्र विद्युत् उत्पादन गरिरहेको छ । इलाममा सञ्चालित अन्य आयोजनाको पनि अवस्था उस्तै छ । वर्षा कम भएका कारण खोला खोल्सामा पानीको मूल फुट्न सकेको छैन । इलामको माईखोला, जोगमाई खोला र पुवाखोलामा गरेर एक दर्जन बढी हाइड्रो सञ्चालनमा छन् । विगत वर्षहरूमा यस सिजनमा जुन उत्पादन हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन ।
समयमा नै मनसुन सक्रिय हुन नसक्दा यस्तो समस्या आएको बताइएको छ । असार १५ मा पनि पर्याप्त पानी पर्न नसक्दा एकातिर तराईमा गर्मी बढेको छ भने किसानले समयमा रोपाइँ गर्न सकिरहेका छैनन् ।

टीका खतिवडा