कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
283

गैरआवासीय नेपाली संघले नेपालालाई दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न तयार रहेको जनाएको छ । गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले समृद्ध नेपाल बनाउने सरकारको राष्ट्रिय आकांक्षामा तमाम गैरआवासीय नेपालीले आ–आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न तयार रहेको बताएका हुन् ।
नेपालले दिगो विकास लक्ष्यका उद्देश्य पूरा गर्न वर्षको औसत वार्षिक करिब २० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको आकलनको चर्चा गर्दै ढकालले सहयोगको तत्परता देखाएका हुन् । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य (एसडीजी) का लागि नेपालमा वार्षिक ५ खर्ब ८५ अर्ब लगानी न्यूनता (ग्याप) देखिएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा आयोगले गरेको एसडीजीका लागि आवश्यक आकलन, लागत र वित्तीय रणनीतिसम्बन्धी अध्ययनले प्रत्येक वर्ष यति धेरै लगानी अपुग हुने देखाएको हो । संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० सम्मका लागि एसडीजी अघि सारेको छ । एसडीजीको १५ वर्षको औसत एसडीजीका लागि आवश्यक लगानीलाई विश्लेषण अध्ययनमा आयोगले यस अवधिमा ३०३ खर्ब ८४ अर्ब लगानी आवश्यक रहेको तथा त्यसमध्ये ८७ खर्ब ७५ अर्ब लगानी न्यूनता हुने जनाएको छ ।
प्रतिवेदनका आधारमा प्रत्येक वर्ष एसडीजी हासिल गर्नका लागि २० खर्ब २४ करोड लगानी आवश्यक पर्नेछ । वार्षिक आर्थिक वृद्धि ८.६७ प्रतिशत तथा कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई २७ प्रतिशतको आधार मानेर निकालेको लागत परिदृश्यमा प्रत्येक वर्ष २ अर्ब १२ करोड सार्वजनिक र ३ अर्ब ६७ अर्ब निजीतर्फ अपुग हुने देखाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी थाइल्याण्डले त्यहाँको नेपाली नियोग र नेपाली डायस्पोराबीच आयोजना गरेको कार्यक्रममा ढकालले सरकारलाई एक भरपर्दो विकास साझेदारको रूपमा गैरआवासीय नेपाली संघले आफूलाई प्रमाणित गर्न आफूहरूको स्रोतसाधन र पहुँचलाई सदुपयोग गरी सम्भावित योगदानको आकलन तुरुन्त प्रस्तुत गर्नुपर्ने पनि बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको नेपाल पोलिसी इस्टिच्युट (एनपीआई)का अध्यक्षसमेत रहेका ढकालले एनपीआई सरकारका कुनै पनि नियोगलगायत निकायमार्फत नेपाल र नेपालीलाइ सहयोग गर्न तयार रहेको बताउँदै एनपीआईलाई अन्तर्रास्ट्रिय थिंक ट्यांकको रूपमा विकास गर्न लागि परेको जानकारी पनि गराए । सहकार्यलाई झन् बलियो बनाउने उद्देश्य राखेर आयोजित शनिबारको रात्रिभोजमा हालै नियुक्त नेपाली राजदूत गणेशप्रसाद ढकाल र उनको परिवारलाई गैरआवासीय नेपाली संघले स्वागत पनि गरेको थियो ।
कार्यक्रममा राजदूत ढकालले एनआरएनए थाइल्याण्डले स्थानीय नेपाली संघसंस्था र समुदायका प्रतिनिधिहरूलाई समेटेर गरेको उक्त समावेशी कार्यक्रमको प्रशंसा गर्दै आफूप्रति देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले एनआरएनएसँग सरकारले ज्ञान, सीप, प्रविधि, पहुँच र लगानीको छेत्रमा ठूलो अपेक्षा राखेको बताउँदै गैरआवासीय नेपाली संघले केही समय अगाडि स्थापना गरेको नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले ज्ञान र नीतिको क्षेत्रमा राष्ट्रिय योजना आयोगमार्फत पु¥याइरहेको योगदानको सरहाना गरेका थिए ।
एनआरएनए थाइल्याण्डका अध्यक्ष अस्सजित अवालेले थाइल्यान्डमा रहेका सबै नेपालीसम्बद्ध सामुदायिक संघसंस्थाहरूलाई समेटेर एक साझा संस्थाको रूपमा काम गरिरहेको जानकारी गराए । अवालेले नवनियुक्त राजदूतबाट पररास्ट्र मन्त्रालयले मान्यता दिएको संस्था एनआरएनएलाई सोही प्रोटोकलमा व्यवहार गरिदिए सबै नेपालीहरू एक भएर नेपालको हितमा कम गर्न सजिलो हुने सुझाव पनि दिए ।
कार्यक्रममा थाइल्याण्डस्थित स्थानीय १० भन्दा बढी नेपाली संस्थाका प्रतिनिधिहरू र विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा विभिन्न अन्तर्रास्ट्रिय संस्थामा कार्यरत नेपाली विज्ञ साथै नेपाल पोलिसी इन्स्टिच्युटका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको एनआरएनए थाइल्याण्डका महासचिव रवि महर्जनले बताए ।