कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
228

पूर्वीलमजुङको दोर्दीखोलामा मोटरेबल पुल निर्माण सुरु गरेको आठ वर्ष भयो । तर पुल निर्माण सम्पन्न हुन सकेको छैन । निर्माणाधीन मोटरेबल पुल निर्माणकार्य सम्पन्न हुन नसक्दा स्थानीयलाई निकै सास्ती भएको छ ।
लमजुङको बेंसीसहर नगरपािलका–११ चिती र दोर्दी गाउँपालिका–४ नौथरसेरा जोडिने ६० मिटर लम्बाइको मोटरेबल पुल २०६८ चैतमा शिलान्यास भएको थियो । पुल निर्माणको ठेक्का पाएका हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले काममा ढिलाइ गरेपछि आठ वर्षसम्म पुल निर्माण हुन नसकेको हो । लामो समय निर्माणकार्य रोकिएको सो पुलमा सरकारले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही थाल्ने प्रक्रिया अघि बढाएपछि गत वर्षको जेठबाट निर्माणकार्य पुनः शुचारु भएको थियो । पुल निर्माणकार्य सुरु भएसँगै स्थानीय ढुक्क भएका थिए, तर पुल निर्माणकार्य अझै पूरा हुन नसकेपछि स्थानीय निराश   छन् ।

तीनवटा पिल्लर ठड्याएर छोडिएको पुलमा गत जेठमा ढलान गरिएको थियो । तर ढलान भइसके पनि एक्सपान्सन ज्वाइन्ट बाँकी नै छ । निर्माणपक्षले काम नगरेपछि दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले अस्थायी सामग्री राखेर पुल प्रयोगमा ल्याइएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । “गत जेठमा ढलान गरयो, अब पुल बन्नेभयो भन्ने लागेको थियो,” अध्यक्ष गुरुङले भने, “एक्सपान्सन ज्वाइन्ट बाँकी नै छ, अहिले फेरि ठेकेदार बेखबर भयो ।”
समयमा पुल नबन्दा दोर्दी खोलामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भइरहेका छन् । वर्षौं अघिदेखि मन्त्री, नेता, सिडीयो, एलडीयो सबैलाई ताकेता गर्दा पनि पुल निर्माणकार्यले पूर्णता पाउन नसकेको अध्यक्ष गुरुङले बताए ।
६० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त पुल २ करोड ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको थियो । पुलमा तीनवटा स्ल्याब ढलान जोड्न एक्सपान्सन ज्वाइन्ट राख्न बाँकी छ । रेलिङ र दायाँ–बायाँ एप्रोच सडक निर्माण गर्न बाँकी छ । डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई ७५ प्रतिशतभन्दा बढी रकम भुक्तानी दिइसकेको छ ।