दिपक बोहरा
सोमवार, असार ९, २०७६
163

पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिका सुक्खा क्षेत्रको रूपमा परिचित छन् । सुक्खा क्षेत्र घोषणा गरेको १२ वर्ष भइसकेको छ । तुम्बेवासहित तत्कालीन एक दर्जन गाविसलाई विशेष कार्यक्रमसहित खानेपानी पुरयाउने भन्दै सुक्खा क्षेत्र घोषणा गरिएको थियो । तर, घोषणा अनुसार कार्यक्रम नहुँदा अहिले त्यस क्षेत्रका नागरिक थप पीडामा परेका छन् । अहिले सुक्खा क्षेत्रअन्तर्गतको कुम्मायक गाउँपालिकामा मात्रै गएको एक वर्षमा ४ सय ९० जनाले गाउँ छाडेका छन् ।
बसाइँसराइ जाने मध्ये करिव ८५ प्रतिशत पानीका कारण भएको कुम्मायाक वडा नम्बर १ का अध्यक्ष देवेन्द्र लावतीले बताए । पानी उपलब्ध हुने हो भने बसाइँसराइको दर यत्रो नहुने उनको भनाइ छ । अहिले गाउँमा मान्छे रोक्न ठूलो समस्या बन्दै गएको छ । दुई घण्टाभन्दा टाढाबाट पानी ल्याएर विद्यालय जाने उमेरका बालबालिकालाई समस्या छ । खेती किसान गर्ने नागरिक पनि आजित हुने अवस्थामा पुगेको स्थानीय मेदनी लावतीले बताए । “डिप बोरिङको पानी त आयो तर त्यो पनि प्रभावाकारी भएन,” उनले भने, “चर्चा मात्रै ठूलो भयो ।”

कुम्मायक गाउँपालिकामा संघीय संसद् र प्रदेश संसद्का तर्फबाट कोषमार्फतको रकम करिव ७० लाख रूपैयाँ चालू आर्थिक वर्षमा सक्ने गरी काम हुँदैछ । जसमध्ये संघीय संसद् सदस्य बसन्तकुमार नेम्वाङका तर्फबाट बिनियोजन भएको ३५ लाख रूपैयाँमा ३ वटा योजना बन्दैछन् । यासोक बजारको सुविधाका लागि भौतिक पूर्वाधार विकास गर्ने भन्दै २५ लाख छुट्याइएको छ भने सोही बजेटअन्तर्गत कुम्मायक–३ मा मोटरबाटोका लागि १० लाख बिनियोजन गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार २०७५ को वैशाखदेखि चैत मसान्तसम्ममा ४ सय ९० जनाले गाउँ छाडेका छन् । गाउँपालिकाको पञ्जीकरण शाखामा रहेको तथ्यांकअनुसार कुल १ सय ७५ को दर्ता छ । यो अवधिमा गाउँमा बसाइसरी आउनेको संख्या भने २ मात्रै रहेको छ । उनीहरू पनि ब्यापार व्यवसायका लागि आएको उल्लेख छ ।
खानेपानीको संकट कायमै रहेपछि कुम्मायक गाउँपालिकाले खोलाको पानी बोकेर स्थानीयलाई वितरण गरिरहेको छ । खोलाको पानी स्थानीयले ६० पैसा प्रतिलिटरमा किन्ने गरेका छन् । गाउँपालिकाले करिव ३० किलोमिटर टाडाबाट ट्याक्टर र ट्यांकरमा पानी ल्याउने गर्छ ।
तमोर लिफ्ट आयोजना पुरा हुन समय लाग्ने भएपछि स्थानीय तहले नागरिकको सुविधाका लागि खोलाको पानी ट्याक्टरबाट वितरण गरिरहेको हो । गाउँपालिकाको बजेटमार्फत खरिद गरिएका ट्याक्टर र ट्यांकरमार्फत गाउँगाउँमा पानी पु¥याउने काम भइरहेको छ ।
साविकका यासोक, स्यावरुम्बा र रानीगाउँमा पानी वितरण भइरहेको छ । त्यहाँका करिव ९० प्रतिशत स्थानीयले ट्याक्टरमा बोकेको खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । “कि खोलाको पानी किन्नु प¥यो, कि त गाउँ छाड्नुको विकल्पै छैन,” स्थानीय टंक पौडेलले भने, “पानीका कारण महिला र बालबालिका बढी प्रताडित छन् ।”
कुम्मायक गाउँपालिकामा मात्रै ५ स्थानमा डिप बोरिङ प्रविधिमार्फत खानेपानी पु¥याउने भन्दै काम थालियो । केही समय पानी आए पनि बीचबीचमा मोटरमा समस्या आइरहने गरेका कारण प्रभावकारी हुन सकेको छैन ।
डिप बोरिङ प्रविधिबाट पहिलो चरणमा पाँचथरका अति सुक्खाग्रस्त क्षेत्र यासोक, रानीगाउँ, स्याबरुम्बालगायतका पाँच स्थानमा पानी निकालिएको थियो । बिजुलीपानी, निगाले, यासोक बजार, उत्तीसे र देवल गाउँमा पानी निकालिएका थियो । त्यसमध्ये यासोक बजारका लागि निकालिने पानी अहिले बन्द अवस्थामा छ । अरु दुई स्थानमा निर्माणाधीन अवस्था छ । एउटा प्रविधि जडान गर्न कम्तिमा २५ लाख खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटले ठाउँठाउँमा पानी निकाल्ने भनिए पनि त्यो प्रभावकारी हुन नसकेको हो ।
सुक्खा क्षेत्रका स्थानीयका लागि पानी पु¥याउने भन्दै थालिएको तमोर लिफ्ट आयोजना आगामी असोजसम्ममा पुरा हुने बताइएको छ । आयोजनाअन्तर्गतको आङ्ना र मौवातर्फको काम ४० प्रतिशत पुरा भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सामाजिक परिचालक पून्य सेढाईले भने, “यासोकतर्फको काम अन्तिम चरणमा छ । आगामी असोजसम्ममा सबै काम सक्ने तयारी छ ।”
कुम्मायक गाँउपालिकामा पर्ने साविकका यासोक, रानीगाँउ र स्याबरुम्बा गाविसका ३ हजार ४३ घर परिवारलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ आयोजना निर्माण भइरहेको हो । प्रेरा स्वामी नारायण जेभी काठमाडौं र कन्काई महादेव खिम्ती स्वामी नारायण जेभी धरानले निर्माणको जिम्मेवारी लिएका छन् । कुल ४० करोड ४४ लाख ७४ हजार ४३ रूपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो ।