कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
260

वर्षायाम लाग्नुअघि नै लमजुङका ग्रामीण सडक जीर्ण हुँदा यात्रुहरूले सास्ती पाएका छन् । केही साता अघि परेको झरीका कारण सडक भत्किएपछि जिल्लाका ग्रामीण भेग पुग्ने सडक जीर्ण बनेका हुन् ।
जिल्लाभरका मुख्य मुख्य ग्रामीण सडक नै झरीका कारण बिग्रिएको हो । दैनिकजसो वर्षाले सडक भत्काउन थालेपछि मर्मतमा कठिनाइ हुँदै आएको सरोकारवालाले बताएका छन् ।
सडक समस्याकै कारण गाउँमा यात्रा गर्न तथा सामान ढुवानी गर्न पनि कठिनाइ भएको छ । ग्रामीण भेगबाट दैनिक सदरमुकाम आउने तथा जिल्लाबाट अन्यत्र जाँदा आउँदासमेत यात्रुहरूले सास्ती भोग्नुपरेको मध्यनेपालका विजयराज पौडेलले बताए । आर्थिक वर्षको अन्त्यतिर आउँदा सडक मर्मतको क्रम पनि चलेकोले कतिपय ग्रामीण सडकमा यात्रुहरूले दुःख पाएका छन् । कतिपय सडकमा भने बर्खाले भत्किएर मर्मत हुन नसक्दा यात्रुहरू सवारी साधन छोडेर पैदल हिँड्ने गरेका छन् । जिल्ला प्रवेश गरेदेखि नै सदरमुकाम आउने मुख्य सडक नै जीर्ण बनेको छ । सदरमुकामबाट जिल्लाको पूर्व, पश्चिम र उत्तरतर्फ पुग्ने सडकहरू थप जोखिमपूर्ण रहेका छन् ।
जिल्लाको सुन्दरबजारदेखि कुन्छाहुँदै सोतीपसल पुग्ने सडक जीर्ण हुँदा यात्रुहरूले निकै सास्ती खेप्नुपरेको छ । यस्तै सुन्दरबजारबाट परेवाडाँडा हुँदै जिता पुग्ने सडक पनि जोखिमपूर्ण भएको छ । यता बोराङ खोला हुँदै विचौर, दूधपोखरी पुग्ने सडक, गौडादेखि ईलमपोखरी हुँदै विचौर पुग्ने सडक, उत्तरी लमजुङका विभिन्न गाउँमा पुग्ने सडक जीर्ण हुँदा यात्रुहरूले सास्ती पाएको गुनासो गरेका छन् ।

सडक सास्तीले पूर्वी लमजुङ प्रभावित
पूर्वी लमजुङको दूधपोखरी गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र हो । गाउँपालिकाभरि कतै पनि कालोपत्रे त के ग्रावेल सडकसमेत छैन । सडक सञ्जालले जोडिए पनि साविक विचौर दूधपोखरीबाट सदरमुकामसम्म आउन पूरा दिन बिताउनुपर्छ । जिल्लाकै विकट दूधपोखरीमा सडक ट्रयाक खोलिएको झण्डै एकदशक भइसकेको छ । खोलिएका सडकमा पनि सवारी चलाउन निकै सास्ती हुने गरेको छ । हिउँद नसकिँदै सडक विजोक भएपछि बर्खाको समयमा भने सवारी सञ्चालन गर्न कठिन देखिएको स्थानीय चालक गजबहादुर गुरुङले बताए । “हिउँदमै सवारी चलाउन यस्तो गाह्रो छ,” चालक गुरुङले भने, “बर्खामा त कसरी चल्छ र सम्भव नै छैन ।”
भौगोलिक विकटतालाई विशेष प्राथमिकतामा राखेर राज्यबाट नागरिकले प्राप्त गर्ने सामान्य सेवा सुविधालाई व्यावहारिक विस्तार गर्नसके मात्र दुर्गमका नागरिकले संघीयताको अनुभूति गर्न पाउने छन् । भौगोलिक विकटताले नै पिछडिएको यस क्षेत्र उचित सडक सञ्जालकै अभावमा विकासमा पछि परेको जनप्रतिनिधिहरू बताउँछन् । “सडककै कारण अन्य भौतिक संरचना निर्माण र विकासमा बाधा भइरहेको छ,” दूधपोखरी–२ का वडाध्यक्ष गोविन्द दवाडीले भने, “सडकलाई प्राथमिकता नराख्ने हो भने अन्य विकासको कल्पना पनि नगरे हुन्छ ।” व्यवस्थित सडक सञ्चालन गर्नसके पनि विकासका अन्य पूर्वाधार सहज रूपमा पुग्ने भन्दै सडक निर्माणलाई विशेष प्राथमिकतामा राखेको स्थानीय गाउँपालिकाले जनाएको छ । स्थानीय गाउँपालिकाले करिब ८० प्रतिशत बजेट सडक निर्माण तथा स्तरोन्नतिका लागि विनियोजन गरेको गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले बताइन् । “हाम्रो प्राथमिकता भनेको सडक नै हो,” अध्यक्ष गुरुङले भनिन्, “विकास बजेटअन्तर्गत करिब ८० प्रतिशत सडक स्तरोन्नतिका लागि विनियोजन गरेका छौं ।”
गाउँमा न उचित स्वास्थ्य सेवा छ, न दक्ष स्वास्थ्यकर्मी । सडककै कारण एम्बुलेन्स सेवा छैन । गाउँमा अहिलेसम्म केन्द्रीय विद्युत् प्रशारणलाइन पुग्नसकेको छैन । खानेपानीको उत्तिकै असुविधा छ । सदरमुकाम धाउनुभन्दा राजधानी पुग्ने खर्च कम लाग्ने स्थानीय बताउँछन् । सहज रूपमा कुनै सेवा नपाउँदा निकै असहज भएको स्थानीय प्रकाश दवाडीले बताए । स्थानीय सरकारको पहलले मात्रै पनि यो क्षेत्रको विकासले गतिलिने सम्भावना कम देखिन्छ । भौगोलिक विकटताका कारण यो क्षेत्रको विकासका लागि सरकारले विशेष प्याकेज बनाएर अघि बढ्नुपर्ने स्थानीय रामहरि न्यौपानेले बताए ।
सडक ट्रयाक खोलिएको वर्षौं बितिसक्दा पनि स्तरोन्नति नहुँदा पूर्वी लमजुङका नागरिकले सास्ती खेप्दै आएका छन् । जिल्लाको कर्णाली मानिएका साविक दूधपोखरी र विचौर गाविस जसरी विकासमा पछि परेका छन्, यस क्षेत्रका नागरिकलाई राज्यबाट प्राप्त हुने आधारभूत सेवा लिनसमेत कठिनाइ भएको छ ।

सन्देश पौडेल