मीनकुमार नवोदित
बिहिवार, जेठ ३०, २०७६
384

जर्मनी, पोखराका आशिष गुरुङ जर्मनी बस्न थालेको ९ वर्ष पुग्यो । २० वर्षको उमेर टेक्दा नटेक्दै पढ्न भनेर युरोप छिरेका आशिष अहिले २९ वर्षका भए । उनी फ्र्यांकफटस्थित होटल फिलिम्समा कुकको काम गर्छन् । आफ्नै अपार्टमेन्ट किनेका छन् । गाडी किनेका छन् । मासिक नेपाली ५ लाखभन्दा बढी कमाइरहेका छन् । सुविधाको हिसाबले उनका लागि सबै छ । तर, उनी खुसी छैनन् । आशिष भन्छन्, “धन सम्पत्तिले मात्रै मानिसलाई सुखी र खुसी बनाउँदो रहेनछ । देश र परिवारबाट टाढा बस्नुको पीडा धेरै हुँदो रहेछ ।”
उनी अहिलेसम्म एकपटक मात्रै नेपाल गएका छन् । उनका परिवार सबै नेपालमै छन् । जर्मनीमा भेटिएका आशिषले खुलेर कुरा गरे । देशमा रोजगारी नपाएकै कारण आफूहरू पराई भूमिमा बस्नुपरेको उनले सुनाए । देशको अवस्था अझै नसुध्रिएकोमा उनीको चिन्ता बेग्लै थियो । दक्ष जनशक्तिलाई निर्यात गरेर मुलुक नबन्ने उनको भनाइ थियो । रोजगारीको अवसर सिर्जना भए नेपालमै फर्किएर काम गर्ने इच्छा सुनाए आशिषले । “नेपालका बारेमा तपाईँहरुलाई भन्दा हामीलाई चाँडो थाहा हुन्छ प्रविधिले गर्दा,” उनले थपे, “स्थिर सरकारले पनि केही काम गर्न सकेको छैन । यो सरकारले चाहिं केही गर्छ कि जस्तो लागेको थियो । तर, खासै काम गर्छ जस्तो लाग्न छाड्यो । फेरि बमको राजनीति सुरु भएको छ ।”

आशिषले जर्मनीकै कार्ड पाइसकेका छन् । उनले जर्मनी आएको ३ वर्षमै कार्ड पाएका हुन् । जर्मनीमा कम्तीमा ५ वर्ष बसेपछि मात्रै कार्ड दिने गरेको छ । “म त भाग्यमानी रहेछु, त्यसरी ३ वर्षमै कार्ड थोरैले मात्रै पाउँछन्,” उनले भने, “ती थोरैमध्ये म पनि परें ।” परिवार र आफन्तबाट टाढा रहनु नै पराई मुलुकमा बस्नु पर्दाको सबैभन्दा ठूलो पीडा हो भन्छन् उनी । अन्य समस्या युरोपमा खासै नरहेको आशिष बताउँछन् । “सबै सिष्टमले चलेको छ । काम गर्न सक्यो भने पैसा पनि छ,” उनले थपे, “तर, युवाशक्तिलाई बाहिर राखेर मुलुक बन्न सक्दैन । यदि नेपालमा मासिक ५० लाख रुपैयाँ कमाउने अवस्था भए ५ लाखको जागिर छाडेर फर्किन्थें ।”
झापा विर्तामोडकी अनुपा पाठकको पीडा पनि आशिषकै जस्तो छ । उनी जर्मन भाषा सिक्न आएकी हुन् । उनी आएको ५ वर्ष पुग्यो । पढ्दै रेष्टुरेन्टमा काम गर्छिन् उनी । आइकन नेपाल गएकी छैनन् । अझैसम्म कार्ड पनि बनेको छैन । कार्ड नबनी नेपाल जाने अवस्था छैन उनको । उनलाई पनि घरपरिवार र आफन्तबाट टाढा बस्नुको पीडाले हरक्षण चिमोटिरहन्छ । “नेपालमा बस्नेले युरोपमा बस्ने नेपालीहरू सुखमा होलान् । खुसी होलान् भन्ने सोच्छन् । सोच्नु पनि स्वभाविकै हो,” पाठकले थपिन्, “तर त्यस्तो सुख छैन । नेपाल नगएको ५ वर्ष भयो । अहिलेसम्म विवाह भएको छैन । केहीलाई छाडेर अधिकांश यहाँका नेपाली पीडामै छन् । हाम्रा आफ्नै पीडा र वेदना छन् ।”
फ्र्यांकफटमा करिब दुई हजार नेपाली छन् । उनीहरू अधिकांश होटल र रेस्टुराँमा काम गर्छन् । नेपालीलाई नेपालीले सहयोग नगर्ने गरेको पाठक बताउँछिन् । नेपालीदेखि नेपाली नै डराउनुपर्ने अवस्था छ । लामो समयदेखि जर्मनमा बसेका नेपालीले समेत सहयोग नगर्ने गरेको उनको भनाइ छ । “सम्पर्क गर्दा सहयोग माग्ला कि भनेर सम्पर्कमै नआउने अवस्था छ ।”
ललितपुरकी सिर्जना महर्जन पनि जर्मनी आएको ५ वर्ष पुगेको छ । उनी डच भाषा पढ्दैछिन् । पढाइबाहेक रेस्टुराँमा पनि काम गर्छिन् । छिनछिनमा घरपरिवार र स्वदेशको मायाले सताउने गरेको उनले पनि सुनाइन् । “म त सुत्दा पनि नेपालकै सपना देख्छु,” सिर्जनाले भनिन्, “तर, नेपालमा भविष्य छैन ।” विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै लगाउने वातावरण सरकारले बनाउन नसकेको उनको गुनासो छ । समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न विदेशमा रहेका युवालाई स्वदेश फर्काउनुपर्ने उनको तर्क छ । “क्षमतावान् युवालाई विदेश पठाएर मुलुक समृद्धि बन्छ भन्नु कल्पना मात्रै हुनेछ,” महर्जनले भनिन्, “ठूला–ठूला विकासका परियोजना सञ्चालन गर्नुपर्छ । कृषि र ऊर्जामा व्यापक लगानी गर्नुपर्छ । त्यसपछि आफैं रोजगारी सिर्जना हुन्छ ।”
खाडी जाने युवाको मात्रै होइन विकसित मुलुकका युवाहरूको पनि थुप्रै पीडा रहेको उनी सुनाउँछिन् । आफूहरू भौतिक रुपमा सुखमा रहे पनि देश र आफन्तलाई सम्झिएर वास्तविक रुपमा सुखी हुन नसकेको उनको भनाइ छ । “विदेशमा बस्नु हाम्रो रहर होइन बाध्यता हो,” उनले भनिन्, “अब नेपालमा गएर पनि के गर्नु, केही विकल्प भए फर्किने थिएँ ।”
आशिष, अनुपा र सिर्जना त प्रतिनिधिपात्र मात्रै हुन् । फ्रान्स, बेल्जियम, नेदरल्याण्डमा भेटिएका नेपालीको चिन्ता र चासो पनि नेपालको आर्थिक समृद्धि र विकासमै छ । युरोपमा राम्रै व्यवसाय गरेर बसेका छन् नेपालीहरू । उनीहरूले राम्रै कमाइ पनि गरिरहेका छन् । तर, युरोपमा भेटिएका सबै नेपालीको चिन्ता र चासो नेपालको विकास र समृद्धिमै छ । नेपाली व्यवसायी संघ बेल्जियमका महासचिव मदन दवाडीले पनि युवाहरू रहरले विदेशमा नबसेको बताए । उनी ब्रल्सेसमा रेस्टुराँ व्यवसाय गरेर बसेका छन् । नेपालमा अझै सही रुपमा काम गरेर स्थापित हुने अवस्था सिर्जना नभएको दवाडी बताउँछन् । “एउटै कामका लागि पनि दसतिर धाउनुपर्ने अवस्था छ,” ९ वर्षदेखि ब्रल्सेसमा बसोबास गर्दै आएका दवाडीले भने, “सरकारले वातावरण बनाउने हो भने बाहिर रहेका आधा नेपाली स्वदेश फर्किन्छन् ।”
नेपाली व्यवसायी संघ नेदरल्याण्डका अध्यक्ष श्रीराम कँडेल पनि सरकारले नेपाली युवालाई रोजगारी दिने भन्दा पनि विदेश जान प्रोत्साहित गरिरहेको बताउँछन् । “गर्वका साथ युवालाई विदेश पठाउने सम्झौतामा हस्ताक्षर गर्छ,” उनले भने, “नर्स, इन्जिनियर, डाक्टरलगायत दक्ष जनशक्तिलाई विदेश पठाएर मुलुक विकास हुँदैन ।” सरकारले विश्वमा छरिएका नेपालीको पुँजीसँगै नेपालीलाई भिœयाएर एकपटक मुलुकको समृद्धिमा सबैलाई समाहित गराउने वातावरण बनाउनुपर्ने उनले सुझाए ।
नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यामनाथ निरौलाले सरकारले केही समय अघि काठमाडौंमा गरेको लगानी सम्मेलनको अर्थ नरहेको तर्क गर्छन् । “लगानी भित्र्याएर के गर्नु दक्ष जनशक्ति मुलुकमा छैनन्,” निरौलाको प्रश्न थियो, “ठूलाठूला केवलकार, जलविद्युत योजना अघि बढाउँदा जनशक्ति कहाँबाट ल्याउने ?” विदेशमा पढेका र उद्यम व्यवसायमा अनुभव हासिल गरेका जनशक्ति भित्र्याउन सके उनीहरूसँगै लगानी पनि भित्रिने उनले दाबी गरे । मुलुकबाहिर झन्डै ५० लाख नेपाली बसोबास गर्छन् ।