कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
249

लमजुङ सदरमुकाम बेंसीसहरका लागि निर्माणाधीन भाचोक खोला खानेपानी आयोजनाले उपभोक्ताको रकम फिर्ता गर्ने भएको छ । उपभोक्ताबाट रकम उठाई निर्माण सुरु भएको सो आयोजनाले उपभोक्ताबाट ऋणस्वरुप लिएको रकम उपभोक्तालाई नै फिर्ता गर्न लागेको हो ।
करिब २८ करोडको लागतमा निर्माण सुरु गरिएको सो खानेपानी आयोजनाले बेंसीसहर नगरपालिकाको सहयोगमा नगर विकास कोषबाट छुट्टै ऋण पाएपछि उपभोक्ताहरूको रकम फिर्ता गर्न लागेको बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए । “खानेपानी आयोजना सम्पन्न गर्नका लागि नगर विकास कोषबाट चार करोड १४ लाख रुपैयाँ सम्झौता भइसकेको छ,” अध्यक्ष प्रधानले भने, “आयोजना सम्पन्न अगावै नगर विकास कोषबाट ऋण पाएकाले उपभोक्ताको रकम फिर्ता गर्न लागेका हौं ।” समितिले बेंसीसहरमा खानेपानी अभाव हुन थालेपछि उपभोक्तासँग रकम उठाएर नयाँ सहलगानी खानेपानी आयोजना निर्माण सुरु गरेको थियो । समितिले बेंसीसहरका उपभोक्ताबाट कम्तीमा १० हजारदेखि रकम संकलन गरेको थियो । उपभोक्ताबाट ऋणस्वरुप तीन करोड रुपैयाँ संकलन गरेको समितिले बेसीसहरकै भाचोक खोलामा खानेपानी आयोजना निर्माण सुरु गरेको हो ।
चालू आवको असार मसान्तसम्म सकिने भनिएको भाचोक खोला खानेपानी आयोजनाको काम अहिलेसम्म ६५ प्रतिशत सकिएको छ । २०७४ साउनबाट सुरु गरिएको आयोजना ०७६ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने भए पनि केही महिना ढिला हुने भएको छ । आयोजनामा ठेकेदार कम्पनी महादेव खिम्ती पराजुली जेभीले काम गरिरहेको छ ।
पछिल्लो महिना बेंसीसहरमा खानेपानीको चरम संकट परिरहेको बेला उक्त खानेपानी आयोजनामा भएको ढिलाइले उपभोक्ता निराश बनेका छन् । उक्त आयोजनामा केही ढिलाइ भए पनि च्वाइस नेपालसँगको साझेदारीमा पनि अर्को योजना निर्माणाधीन भएको र सो योजना असार मसान्तसम्म सम्पन्न हुने अध्यक्ष प्रधानले बताए । करिब ७० लाखको लागतमा निर्माणाधीन खानेपानी योजनाबाट बेंसीसहर–९ का बासिन्दालाई वितरण गरिने र त्यहाँबाट बचत भएको पानी मूलट्यांकीमा जम्मा गरी सबैलाई वितरण गर्न लागेको समितिले जनाएको छ ।
दुवै योजनाको सरदर ६५ प्रतिशत काम सम्पन्न भइसकेको समितिका अध्यक्ष प्रधानले बताए । च्वाइस नेपालसँगको साझेदारीमा निर्माणाधीन योजना असारमा सकिने र अर्को भाचोक खोलामा निर्माणाधीन योजना पनि असोजसम्म सकिने भएकाले आउँदो वर्षको हिउँदमा उपभोक्तालाई खानेपानीसम्बन्धी समस्या नहुने समितिले जनाएको छ । “हिउँदका कारण मूल सुकेर बेंसीसहर बजारमा खानेपानीको चरम संकट भएको हो,” अध्यक्ष प्रधानले भने, “आगामी वर्षबाट यस्तो समस्या भोग्नु पर्दैन ।”
निर्माणाधीन दुवै खानेपानी आयोजना सम्पन्न भएपछि बेंसीसहरवासीलाई करिब ३० वर्षसम्मका लागि खानेपानीको कुनै समस्या नहुने समितिको दाबी छ । करिब ४० हजार जनसंख्या रहेको बेंसीसहरमा हाल महभीर खोला, ढुडखोला, लब्ले खोला, फुर्केभीर, ढाडखोला, पुवा खोला, सप्लिङ, ठूलोपँधेरो डिप बोरिङबाट गरी प्रतिसेकेण्ड २८ लिटर खानेपानी उपलब्ध हुँदै आएको छ ।

सन्देश पौडेल