कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
316

वातावरण तथा दिगोपनासम्बन्धी वैश्विक सम्मेलन काठमाडौंमा हुने भएको छ । सन् २०२० को नोभेम्बर २२ देखि २४ सम्म हुने सम्मेलनमा विश्वका ख्याति प्राप्त वैज्ञानिकदेखि नोबेल पुरस्कार विजेतासम्म सहभागी हुने छन् ।
त्रिभुवन विश्वविद्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापक रेजिना मास्के बेन्जूले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय, फ्लोरिडा स्टेट विश्वविद्यालय, वायोमिङ विश्वविद्यालयको सहकार्यमा सम्मेलन हुन लागेको जानकारी दिइन् । सम्मेलनमा साँढे तीन सय ख्याति प्राप्त वैज्ञानिक सहभागी हुने उनले जानकारी दिइन् ।

‘‘वातावरण तथा दिगोपना’’ सम्बन्धि वैश्विक सम्मेलन वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन, दिगो विकास तथा वातावरणीय नीति विषयमा केन्द्रित हुनेछ । कार्यक्रममा प्रस्तुत कार्यपत्र अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित हुनेछन् ।
जलवायु परिवर्तनले प्राणीको जीवन नै संकटमा परेको विषय प्रकाशमा आइरहँदा वातावरणसम्बन्धी वैश्विक सम्मेलन नेपालमा हुनुलाई अर्थपूर्ण मानिएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर देखिइरहँदा नेपाल वातावरणका अध्ययनकर्ताहरूका लागि अध्ययनको विषय बनेको छ ।
पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाँले संसारका दिग्गज वैज्ञानिकहरू सहभागी हुने सम्मेलन नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताए । उनले जलवायु परिवर्तनले नेपालमा मात्र नभई संसारमै नकारात्मक असर परिरहेकाले यसबारे थप अध्ययन अनुसन्धान र बहस जरुरी रहेको बताए ।
उनले उक्त सम्मेलन वातावरणसम्बन्धी अध्ययन अध्यापन गर्ने नेपालीहरूका लागि पनि कोशढुंगा सावित हुने बताए । “हाम्रा वैज्ञानिकहरू संसारभरिका ख्याति प्राप्त वैज्ञानिकहरूसँग जोडिन पाउनु गर्वको विषय हो,” उनले भने, “संसारभर विज्ञ वैज्ञानिकहरू यो सम्मेलनमा भाग लिन आउँदै हुनुहुन्छ । हाम्रा वैज्ञानिक र विद्यार्थीका लागि पनि यो सम्मेलन सिक्ने मौका हो ।”
क्यालिफोर्निया स्टेट विश्वविद्यालयका सह–प्राध्यापक मोहनबहादुर डाँगीले वातावरणबारे अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि नेपाल चासोको क्षेत्र भएको बताए । उनले सगरमाथाको मुलुक भएकाले नेपाल शोधकर्ताहरूका लागि जलवायु परिवर्तनबारे अध्ययनको उपयुक्त क्षेत्र हुनुले पनि वैश्विक सम्मेलन काठमाडौंमा हुन लागेको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेका अवसरमा वैश्विक सम्मेलनमा साँढे तीन सय वैज्ञानिक सहभागी हुँदा विश्वभर सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
जोन्स होपकिन्स विश्वविद्यालयका प्राध्यापक रोनाल्ड कोहेनले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केदार रिजालले अन्तर्राष्ट्रिय सम्मेलनले आफ्ना अनुसन्धानमा आधारित ज्ञानको आदान–प्रदानमार्फत यस्ता वातावरणीय समस्याको पहिचान गरि समाधानका उपाय सुझाउनसमेत प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन र दिगो विकास तथा वातावरणीय नीति गरी तीन महत्वपूर्ण सत्र हुने आयोजकले जनाएका छन् । सम्मेलनमा ख्याती प्राप्त व्यक्तित्वबाट तीन पूर्णसत्र मन्तव्य रहनुका साथै सात वटासम्म विज्ञहरूबाट विशेष प्रस्तुति रहने आयोजकले जनाएका छन् । यस सम्मेलनमा मौखिक तथा पोस्टर प्रस्तुतिका लागि सारांशपत्र वुझाउने अन्तिम म्याद सन् २०२० को मे १५ सम्म रहेको छ । त्यस्तै, सम्मेलन शोधकर्ताहरूका लागि आप्mना अनुसन्धानका परिणामहरू सम्बन्धित विषयमा ख्यातीप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ समक्ष पु¥याउन तथा ज्ञानको आदान प्रदानका लागि एक उपयुक्त मञ्च हुने पनि आयोजकको विश्वास छ ।