कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
289

विपद्पछि दिगो र समावेशी पुनर्निर्माण र पुनस्र्थापना हुनुपर्नेलगायतका सात बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै दक्षिण एसियाली सम्मेलन सम्पन्न भएको छ । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरूको भूमिकासम्बन्धी सम्मेलनले दक्षिण एसियामा विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनामा दीगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहलाई सँगसँगै सहकार्य गर्न आग्रह पनि गरेको छ ।
कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा गरेको प्रगतिलाई मनन् गर्दै स्थानीय सरकारहरू तथा स्थानीय सरकारका संघहरूलाई राष्ट्रिय कार्य ढाँचा अनुकूल आफ्नै विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिहरू बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । त्यस्तै, सफा र नवीकरणीय उर्जाका प्रावधान सुनिश्चित गर्न जलवायु परिवर्तनका असरहरू न्यूनीकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न राष्ट्रिय सरकारलाई आह्वान गरेको छ ।

सम्मेलनले विश्वका मुद्दालाई स्थानीय तहमा लागू गर्नका लागि स्थानीय सरकारहरूको संस्थागत, संगठनात्मक, वित्तीय एवं प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आह्वान पनि गरेको छ । त्यस्तै, स्थानीय सरकारहरूका नीति निर्माण, योजना तथा निर्णय प्रक्रियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न, निर्णय प्रक्रियामा महिला तथा जोखिमयुक्त वर्गको अर्थपूर्ण सहभागिता वृद्धि गर्न राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा स्रोत उपलब्ध गराउने कार्यको महत्वमाथि जोड दिइएको छ ।
सम्मेलनले स्थानीय सरकारमार्फत् दिगो विकास लक्ष्यहरू, शहरी मुद्दा एवं विपद् जोखिम न्यूनीकरण सेन्डाई फ्रेमवर्कको प्रभावकारी स्थानीयकरणका लागि स्थानीय सरकारहरूलाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ मा जापानमा भएको सम्मेलनले विपद् न्यूनीकरणका लागि सन् २०३० सम्मको सेन्डाइ फ्रेमवर्क तयार पारेको थियो ।
त्यसैगरी, विश्वका मुद्दाहरूको स्थानीय स्तरमा प्रभावकारी कार्यान्वयनका अनुभव तथा सकरात्मक अभ्यासहरू साझेदारी गर्न दक्षिण एसियाका स्थानीय सरकार तथा तिनका संघहरूबीच सहयोग वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनामा स्थानीय तहहरूसँग सहकार्य गर्दै जिम्मेवारी र अधिकार हस्तान्तरण गरेकाले महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एन्ड लोकल गभरमेन्ट–एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, इण्डोनेसिया, श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरू एवं विज्ञहरू सहभागी थिए ।