दीननाथ बराल
बुधवार, जेठ २९, २०७६
260

पोखरा खानेपानी सुधार आयोजना
४ अर्ब ८१ करोडको लागतमा साढे ४ लाखलाई शुद्ध खानेपानी


गण्डकी प्रदेशको राजधानी पोखरामा खानेपानी सुधार (सुदृढीकरण) अभियान सुरु भएको छ । जापान सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले कास्कीको माछापुच्छे गाउँपालिकामा रहेको मर्दी खोलाको पानी सुदृढीकरण गरी पोखरामा वितरण गर्ने अभियान सुरु गरेको हो ।
आयोजना सम्पन्न गर्न जापान सरकारले ४ अर्ब ८१ करोड ३० लाख रूपैयाँ अनुदान दिने सम्झौता भएको नेपाल खानेपानी कार्यालय पोखराका प्रमुख इन्जिनियर निरण महर्जनले बताए । उनले नेपाल सरकारले खानेपानी संस्थानलाई १ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेको जानकारी दिए । जापानी कम्पनी हाजमा एन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको छ । यो आयोजना मेलम्चीपछिको दोस्रो ठूलो भएको बताइएको छ ।
आगामी ३ वर्षभित्र सक्ने लक्ष्य राखिएको आयोजनाको शिलान्यास खानेपानीमन्त्री बिना मगरले गरेकी छन् । कार्यक्रममा उनले राजधानीको मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी योजनालाई समयमै सम्पन्न गर्न सवैको साथ र सहयोग आवश्यक भएको बताइन् । देशमा हाल ८८ प्रतिशत जनतामा पानीको पहुँच पुगेको जानकारी दिँदै मन्त्री मगरले २० प्रतिशत जनताले मात्र शुद्ध पिउने पानी पाएको बताइन् । सन् २०३० सम्ममा सवै नेपालीलाई शुद्ध खानेपानी पु¥याउने सरकारले दीर्घकालिन लक्ष्य राखेको मन्त्री मगरले बताइन् ।
मर्दीमा ग्रिड च्याम्बर र पोखरामा रिजर्भायर ट्यांकी निमार्णको काम प्रारम्भिक चरणमा सुरु गरिएको प्रमुख इन्जिनियर महर्जनले बताए । उनले भने, “यो योजनाले पोखरामा हाल वितरण हुँदै आएका १८ वटा वडामा शुद्ध खानेपानी वितरण गर्दै पहिला वितरण भएको धारा वितरणमा थप सुधार गर्ने रहेको छ, यो अभियानलाई सफल पार्न सवै पक्षको साथ र सहयोग मिलेमा हामीले निर्धारित समयमा उक्त योजना सकिने गरी काम गराउन सक्छौं ।”
पोखराका मुख्य गरी तीन ठाउँ पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गरिने भएको छ । त्यसैगरी मर्दीको मुहान नजिक दैनिक ४ करोड लिटर क्षमताका ४ वटा वालुवा हटाउन र ४ वटै पानी थिग्राउने ट्यांकी, पुरुन्चौरमा दैनिक ४ करोड १ लाख लिटर क्षमताका पानी छान्ने फिल्टर ६ वटा, पुरुन्चौरमै ९ सय ३० घरमिटरका २ वटा सफा पानी संकलन ट्यांकी निर्माण गरिने भएको प्रमुख इन्जिनियर महर्जनले जनाए । पोखराका तीन ठाउँमा भने २०÷२० लाख लिटर क्षमताका पानी ट्यांकी निर्माण हुने भएको हो । खानेपानी आपूर्तिका लागि १ सय १३ किलोमिटर पाइप बिछ्याइने भएको प्रमुख इन्जिनियर महर्जनले बताए । आयोजनाबाट पोखरा महानगरपालिका करिब ४ लाख ५० हजार नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
खानेपानी संस्थान अन्तर्गत पोखराका ४० हजार ५ सय घरधुरीमा खानेपानी धारा जडान भएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटरको पानीको माग भए पनि हाल साढे ५ करोड लिटर मात्रै आपूर्ति हुँदै आएको छ । पोखरामा अझै दैनिक करिब १ करोड ५० हजार लिटर पानी अभाव भएको छ ।
मर्दी खोलास्थित खानेपानी सुधारका लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २००४ मा अध्ययन गरेको थियो । सन् २०८० देखि प्रतिवर्ष १६ करोड रूपैयाँका दरले ऋण फिर्ता गर्नुपर्ने भएको महर्जनले बताए । समयमै आयोजना सम्पन्न नभए थप आर्थिक भार खेप्नुपर्ने उनले बताए । उक्त योजना आगामी सन् २०२२ को डिसेम्बर ३१ भित्र सक्नुपर्ने छ ।