कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
504

फोक्सिङटारस्थित सुनकोसी नदीमाथिको अस्थायी बेलिब्रिज झिकिएपछि खोटाङ जोड्ने दुई नाकामध्ये एक वटा नाका ठप्प भएको छ । वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढ्न थालेका कारण खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको बेलिब्रिज निकालिएपछि जिल्लाको पूर्वी नाका बन्द भएको हो ।
दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकालिएको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका डिभिजनल इन्जिनियर पशुपती ज्ञवालीले बताए ।

पूर्वी प्रवेशद्वारका रूपमा रहेको फोक्सिङटारमा गत मंसिरदेखि सञ्चालनमा आएको बेलिब्रिज जेठ १३ गतेदेखि निकाल्न थालिएको थियो । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्ने गरिएको बेलिब्रिज निकालिएसँगै दिक्तेल–गाईघाटबीचको सिधा यातायात सम्पर्क कम्तिमा ६ महिनाका लागि विच्छेद भएको छ । फोक्सिङटारमा बेलिब्रिज नहुँदा पूर्वी शहर जान र आउनका लागि एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ ।
खोटाङबासीले हाल काठमाडौं, ईटहरी, धरान, विराटनगरलगायतका शहर जान र आउनका लागि जयरामस्थित दूधकोसी पुल प्रयोग गरिरहेका छन् । फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदा विकल्पमा बेलिब्रिज राख्ने गरिएको छ । खोटाङ भित्रिँदा वा बाहिरिँदा फोक्सिङटारमा सुनकोसी र जयराममा दूधकोसी पार गर्नुपर्ने हुन्छ । खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयले समेत शहर जाने र उपभोग्य सामान ल्याउनेक्रममा फोक्सिङटारको बेलिब्रिज प्रयोग गर्दै आएका छन् ।
२०५२ सालमा निर्माण सुरु गरिएको १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएसँगै जिल्लामा निर्माण सामग्रीको मूल्यमा प्रत्यक्ष असर परेको उद्योग बाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए । “पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड जस्ता निर्माण सामग्रीलाई कटारी घुर्मी हुँदै जिल्ला ल्याउनुपर्ने बाध्यता सुरु भएको छ,” उनले भने, “लामो बाटो घुमाएर ल्याउनुपर्दा निर्माणसम्बन्धी सामानको मूल्यमा फेरबदल हुन्छ । आवत–जावतका हिसावले पनि जिल्लाबासीलाई असहज भएको छ ।” सो बाटो भएर खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुसमेत भित्रिने गरेको छ ।
गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे ३ रूपैयाँदेखि ४ रूपैयाँमा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामबाट भित्र्याउँदा प्रतिकिलो ५ रूपैयाँदेखि साँढे ५ रूपैयाँ पर्ने गरेको व्यवसायीहरूको भनाइ छ । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा विगत ४ वर्ष अघिदेखि बेलिब्रिज राख्ने गरिएको छ ।