कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
349

भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापत १ अर्ब ६० करोड रूपैयाँ दिएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव डा. राजन खनाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि १ अर्ब ६० करोड रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । नुवाकोट तथा गोर्खाका नीजि आवास पुनर्निमाणका लागि सो सहयोग उपयोग हुने अर्थमन्त्रालयले जनाएको छ । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्ताबापत यसअघि २ अर्ब १० करोड दिइसकेको अर्थ मन्त्रालयबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
भारत सरकारले आवास पुनर्निर्माणका लागि नुवाकोट र गोरखाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ । हालसम्म भारतले नेपाललाई ४ अर्ब ५० करोड रूपैयाँ प्रदान गरिसकेको दूतावासद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डअनुरूप घरधनीले घर पुनर्निर्माण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरूलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडीपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको पनि दूतावासले जनाएको छ ।
सहयोग हस्तान्तरणपछि नेपालका लागि भारतीय राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए ।
२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति भएपछि भारतलगायतका विभिन्न विकास साझेदारले पुनर्निर्माणमा सघाउने वाचा गरेका थिए ।