अमरराज आचार्य
मंगलबार, जेठ २८, २०७६
329

घोराही उपमहानगरपालिका–१७ को गुलरियामा निर्माणका लागि रकम आए पनि हालसम्म काम सुरु भएको छैन ।
चालू आव ०७५–७६ को अन्त्य हुन लाग्दासमेत क्रिक्रेट मैदान निर्माणका लागि ठेक्का दिइएको छैन भने उपभोक्ता समिति निर्माण गरी योजनासमेत सम्झौता हुनसकेको छैन । यसले गर्दा क्रिक्रेट मैदान निर्माणका लागि आएको बजेट फ्रिज भएर जाने हो कि भनेर क्रिक्रेटका खेलाडी चिन्तित भएका छन् ।

प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले घोराही उपमहानगरपालिकालाई निर्शत अनुदानका रूपमा १ करोड रकम प्रदान गरेको थियो । तर अहिले १ करोडमध्ये ५० लाख रकम अन्य वडामा प्रदान गरिसकिएको र क्रिक्रेट मैदानका लागि ५० लाख रकम प्रदान गरिने बताइएको छ । प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणका लागि घोराही उपमहानगरपालिकाले डीपीआरसमेत निर्माण गरिसकेको छ । उपमहानगरपालिकाले ३५ करोड खर्च लाग्ने गरी प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणको लागि डीपीआर बनाएको छ । उपमहानगपालिकाले हालै मात्र उक्त डीपीआर निर्माण गरेको हो ।
दाङ क्रिेक्रेट संघले २०७५ सालमा नै उक्त खेल मैदान निर्माणका लागि डीपीआर निर्माण गरिसकेको जनाएको छ ।
क्रिक्रेट निर्माणका लागि उपभोक्ता समिति निर्माण गरेर काम अगाडि बढाउनु पर्ने भए पनि त्यसो हुन नसकेको वडा नं १७ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । “मैले पटकपटक उपझोक्ता समिति गठन गर्न आग्रह गरिरहेको छु,” अध्यक्ष चौधरीले भने । तर हालसम्म उपभोक्ता समिति गठन गरेर सम्झौता हुन नसकेको उनको भनाइ छ । अझै ढिला गरेमा बजेट फ्रिज हुनेसमेत उनले बताए । उपभोक्ता समिति गठन भए पनि एउटा व्यक्ति धेरै उपभोक्ता समितिमा बस्न नपाउने भएकाले अर्काे बनाउनु पर्ने भएको उनको भनाइ छ ।
अहिले क्रिक्रेट मैदानमा गाडी सिक्ने स्थानको रूपमा प्रयोग गरिएको छ । अहिले खेल खेल्न योग्य मैदान नभएको दाङ क्रिक्रेट संघले जनाएको छ । उक्त स्थानमा प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट समेत बजेट प्रदान गरेको हो । उक्तस्थानमा क्रिक्रेट मैदान बनाउन २०७१ सालदेखि सुरु गरिएको थियो । सरकारी निकाय, विभिन्न सामाजिक संघसंस्था, खेलप्रेमी व्यक्तिको सहयोग खेलकुद निर्माण भएको थियो । उक्त स्थानमा करिब १० बिघामा प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माण गर्न थालिएको छ । सो स्थानमा २०७१ सालदेखि घोराही नगरपालिकाले २०७४ सम्म प्रत्येक वर्ष दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा क्रिकेट प्रतियोगिता सञ्चालन गरेको थियो तर पछिल्ला वर्षमा प्रतियोगिता समेत आयोजना हुन नसकेको दाङ क्रिक्रेट संघले जनाएको छ ।
संघले घोराहीको गुलरिया मैदानमा दुई वटा क्लब स्तरिय राष्ट्रिय प्रतियोगिता २०७४ र २०७५ मा सम्पन्न गरेको दाङ क्रिक्रेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिए । जिल्ला तथा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरेको स्थानमा अहिले खेल्न लायक नभएको उनको भनाइ छ । “अहिले मैदान खेल खेलाउने अवस्थामा छैन,” अध्यक्ष मजगैयाले भने ।