कारोबार संवाददाता
सोमवार, जेठ १३, २०७६
266

सात स्थानीय तह रहेको डडेल्धुरामा वातावरणीय प्रभाव मूल्यांकन नगर्दा विकासका काम प्रभावित भएका छन् ।
डडेल्धुरादेखि भागेश्वर गाउँपालिकाको बगरकोटसम्म ३२ केभी विद्युत् प्रशारण लाइनमा वातावरणीय प्रभाव मूल्यांकन नगर्दा विकासको काम प्रभावित भएको हो । जसका लागि करिब ३ वर्ष पहिले पोल गाडिए पनि रुख काट्न नसक्दा तार तान्ने काम हुनसकेको छैन ।

यसैगरी डडेल्धुरालाई कञ्चनपुर जिल्लासँगै जोड्ने सबैभन्दा छोटो डोटीघटाल चिरकिट्टे जोगबुढा, दैजी सडकको निर्माणकार्य पनि रोकिएको छ । पूर्वाधार विकास एकाई कार्यालय डडेल्धुराले टेण्डर आह्वान गरी सडक निर्माण गर्न सुरु गरे पनि प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नै नगरी जंगल क्षेत्रमा सडक निर्माण गर्न नपाइने भन्दै डिभिजन वन कार्यालय डडेल्धुराले सडक निर्माणमा रोक लगाएको हो ।
प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै टेण्डर आह्वान गर्दा डडेल्धुरामा मात्रै दर्जनौ विकासका काम प्रभावित भएका छन् । वातावरणीय प्रभाव मूल्यांकनको काम गरेपछि मात्रै टेण्डर आह्वान गर्नुपर्ने भए पनि हालसम्म त्यसो नगरिकनै कामका लागि टेण्डर आह्वान हँुदा विकासको काम प्रभावित हुने गरेको सुदूरपश्चिम यातायात पूर्वाधार निर्देशनालय डोटीका निर्देशक प्रेमदत्त भट्टले स्वीकारे ।
विकास निर्माणको कामको टेण्डर आह्वान गर्नुभन्दा पहिले वातावरणीय प्रभाव मूल्यांकन गर्ने काम नहुँदा आफूहरूलाई पनि काम गर्न समस्या हुने गरेको निर्माण व्यवसायी लवराज चटौत बताउँछन् ।
प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नगर्दा विशेषगरी जंगल क्षेत्रमा विकास निर्माणका काममा अवरोध सिर्जना भएको छ । सडक निर्माणदेखि अन्य विकासका काम गर्दा अनिवार्य रूपमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने भए पनि प्रक्रिया झन्झटिलो हुने भन्दै सरकारी निकायबाटै ऐन मिच्दै टेण्डर आह्वान गर्दा वर्षांैसम्म विकासको काम अलपत्र पर्ने देखिन्छ ।