शिव अधिकारी
सोमवार, जेठ १३, २०७६
359

बेनी–दरवाङ सडकअन्तर्गत दुखु खोलामा मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको छ । पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरेको थियो । २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते दुई करोड २५ लाख ६० हजार ८२३ रुपैयाँमा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो ।
२०७४ कात्तिकमा सक्ने सम्झौता भए पनि अहिलेसम्म दुईतर्फको पिल्लर ठडाएर ढलानको लागि सटिङ भएको छ । सटिङ गरेको एक महिना बिते पनि ढलान नभएको र वर्षामा खोलामा आएको बाढीले बगाउने जोखिम बढेको जनगुनासो बढेको छ । जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसीको नेतृत्वमा पुलको स्थलगत निरीक्षण गरेको थियो । पुल निर्माणमा भएको ढिलाइको विषयमा तत्कालै पूर्वाधार विकास कार्यालयमार्फत निर्माण कम्पनीलाई ताकेता गर्न लगाउने जिसस प्रमुख केसीले बताए ।

पुल निर्माणमा ढिलाइ हुँदा सवारी साधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य छन् । बेनी–दरवाङ मंगला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । स्वच्छन्द–गौचन जेभीले ठेक्का सम्झौता गरे पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीका प्रकाश बानियाले गर्दै आएका छन् । पछिल्लो पटक वैशाख मसान्तसम्मका लागि थप भएको म्याद पनि ठेकेदारले काम नगरी गुजारेका छन् ।
विकास निर्माणमा हुने ढिलासुस्ती, अनियमितता, गुणस्तरहीन काम नगर्ने प्रवृत्ति अन्य समस्या पहिचान गरी सुधारका लागि सुझाव दिने उद्देश्यले अनुगमनलाई जिससले तीव्रता दिएको छ ।