हरिश चन्द
शुक्रवार, जेठ १०, २०७६
388

वजेटको अभावमा अलपत्र अवस्थामा परेका डडेल्धुरा र डोटीका ६ वटा प्रादेशिक सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । संघीयता कार्यान्वयन भएसँगै संघीय सरकार मातहतमा निर्माण भइरहेका वहुवर्षीय प्रादेशिक सडक सुदूरपश्चिम प्रदेश सरकार मातहतमा आए पनि बजेट नआउँदा डडेल्धुरा र डोटीका साना ठूला गरी ३४ प्रादेशिक सडकको निर्माण कार्य अलपत्र परेको     थियो ।
कुल दायित्व रकम १ अर्ब २८ करोडमध्ये २८ करोड रूपैयाँ उपलब्ध भएसँगै डोटी डडेल्धुराका ३४ मध्ये ६ वटा वहुवर्षीय प्रादेशिक सडक कालोपत्रे गर्ने काम सुरु भएको पूर्वाधार विकास ईकाई कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए । डडेल्धुराको उग्रतारा मेलौली, वुडर जोगवुढा, डोटीको वुडर जोरायललगायत ६ वटा सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । संघीय सरकारबाट डडेल्धुरा र डोटीमा साना ठूला गरी ३४ सडकको सुदूरपश्चिम प्रदेश सरकारमा दायित्व हस्तान्तरण भएको थियो ।

बाँकी २८ सडकको म्याद सकिएकाले प्रक्रिया पुरा गरेर छिट्टै काम सुरु हुने पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए । उनले भने, “यस आर्थिक वर्षमा डडेल्धुरा–डोटीअन्तर्गतका विभिन्न सडकका लागि पैसा आएको छ, अब कामले तिव्रता लिन्छ ।”
दैजी–जोगवुढा वडर सडक १५ करोड, उग्रतारा मेलौली सडक बैतडी २ करोड ८७ लाख ९४ शहजपुर वोगटान दिपायल सडक खण्डमा ८ करोड, गैरामुडमरा सडक डोटी १ करोड २६ लाख ५७ हजार, सिलगढी ओखवोट ओसाई वल्लेक किग्राना खप्तडका लागि १ करोड २६ लाख ५७ हजार रूपैयाँ बजेट आएको बताइएको छ । पुँजीगतअन्तरगत प्रदेश सरकारबाट पनि गैराखान मलास किलमिला पर्यटकीय सडक खण्डमा ५९ लाख ५८ हजार जोगवुढा सलोन गोगन चिरकटटेु सडक खण्डमा १ करोड २४ लाख ५५ हजार डुङरि सेरागाड देवल वगरकोट सडक खण्डमा ८० लाख रूपैयाँ बजेट आएको छ ।
संघीय सरकार वा प्रदेश सरकार कसले निर्माण गर्ने भन्ने टुंगो नलाग्नुका साथै ढिलो गरी वजेट आउनुका साथै पूर्वाधार कार्यालय डडेल्धुराले कार्यादेश पनि ढिलो दिएकाले यी सडकको निर्माण कार्य समयमै सम्पन्न गर्न समस्या हुने निर्माण कम्पनीले बताएका छन् ।