दिलबहादुर केसी
शुक्रवार, जेठ १०, २०७६
508

सिंगटीदेखि लामोसाँघुसम्मको प्रसारणलाइन नबन्दा नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाहरूलाई हर्जना तिर्नुपर्ने भएको छ । जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्ने बेलासम्म पनि प्रसारणलाइन नबने प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जना तिर्नुपर्ने अवस्था आउने भएको हो ।
सिंगटी बजार नजिकै २५ मेगावाटका सिंगटी खोला जलविद्युत् आयोजना पूरा हुन लागेको छ, यसले साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिएको छ । आयोजनाको काममा आयोजनाका प्रवद्र्धक कम्पनी सिंगटी हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष, सञ्चालक सहितका उच्च व्यवस्थापनका व्यक्तिहरू लगातार फिल्डमै खट्दै आएका छन् ।

आयोजनाका निर्देशक काजी लामाले साउनबाट जसरी पनि विद्युत उत्पादन हुने बताए । विद्युत् उत्पादन भए तापनि प्रसारणलाइनकै कारण विद्युत् खेर जाने चिन्ता लागेको बताए । सिंगटी खोला सरकारसँग १० वर्षअघि प्रतिस्पर्धामा लिएको ‘सुपर सिक्स’ आयोजनामध्येको सबैभन्दा पहिला पूरा हुने आयोजना हो ।
सुपर सिक्स आयोजनाहरूको विद्युत् उत्पादन हुँदा प्राधिकरणले प्रसारणलाइन पूरा नगरे आम्दानीको ४५ प्रतिशत हर्जना तिर्नु पर्ने प्रावधान रहेको लामाले बताए । सिंगटीले वार्षिक विद्युत् बिक्रीबाट ७१ करोड कमाउँछ । तर प्रसारणलाइन नबने वार्षिक ३१ करोड प्राधिकरणलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । तर प्रसारणलाइन भएर पनि तोकिएको समयमा आयोजना पूरा नभए प्रवद्र्धकले प्राधिकरणलाई २८ प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था छ । अबको २ महिनामा प्रसारणलाइन तयार नभए प्राधिकरणले सिंगटीलाई हर्जना तिर्नुपर्नेछ ।
सिंगटी खोलाको ६ किलोमिटर सुरुङ पूरा भएर ढलान गरी फिनिसिङको काम हुँदै छ । दैनिक ६० मिटर ढलान गर्दै आएको आयोजनामा २ महिना भित्र सुरुङमा सबै किसिमको काम पूरा हुने आयोजना निर्देशक लामाले बताए । १ किलोमिटर पेनस्टक पाइप मध्ये २ सय मिटर मात्र जडान गर्न बाँकी छ । पाइप जडान, हेड वक्स सबै जेठ भित्रै पूरा हुने उनले बताए । पावर हाउसभित्र उपकरण जडानको काम जारी रहेकाले साउनबाट पूर्ण रुपमा आयोजना पूरा हुने उनले बताए ।
सिंगटीदेखि लामोसाँघुसम्मको ४० किलोमिटर प्रसारणलाइन निर्माणाधीन अवस्थामा छ । १ सय ३२ केभी क्षमताको प्रसारणलाइनका १ सय २४ वटा टावरमध्ये ७३ वटा टावर उठेका छन् । सिन्धुपाल्चोकमा ५ र दोलखामा ७ वटा गरी १२ वटा टावरको जग नै तयार नभएको सिंगटी लामोसाँघु प्रसारणलाइन आयोजनाका फिल्ट प्राविधिक गोपाल पोखरेलले जानकारी दिए । ३९ वटा टावर निर्माणाधीन अवस्थामा छन् ।
प्रसारणलाइनमा केही जग्गाको कारण पनि पछिल्लो समय टावर निर्माणमा समस्या परेको छ । आयोजना प्रमुख राजन ढुङ्गेलले तत्कालै ठडिएका टावरमा तार तान्ने काम सुरु हुने जानकारी दिए । उत्पादित विद्युत् खेर जान नदिन सिंगल सर्किट तार तानेर भए पनि प्रसारणलाइन पूरा गराउन आयोजना लागिपरेको उनले बताए ।
“दुई समूहमार्फत एउटा दोलखामा र अर्को सिन्धुपाल्चोकमा तार तान्ने गरी टोली तयारी भएको छ” उनले भने, “अरू समूह पनि थप गरेर चाँडै काम सक्ने प्रयासमा छौं, तर काम गर्ने मान्छे नै पाउन सकेका छैनौं ।” असारमा काम पूरा गर्ने लक्ष्य भए तापनि त्यो नसके तापनि एक–दुई महिना ढिला गरेर भए तापनि प्रसारणलाइन पूरा हुने उनले बताए ।