कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
258

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का विष्णु भुसालले नयाँ जग्गाधनी प्रमाणपत्र पाउँदा खुसी भए । व्यावसायिक कृषि पेसामा लागेका भुसालले घरजग्गा राखेर बैंकबाट ऋण निकाल्नसमेत पाएका थिएनन् । उनले नयाँ पुर्जा पाएसँगै कृषिखेती गर्दा ऋण निकाल्नका लागि सजिलो हुने बताए ।
द्वन्द्वकालीन समयमा अर्घाखाँचीको सदरमुकामसहित सरकारी कार्यालय ध्वस्त हुँदा जलेर नष्ट भएका लालपुर्जा पुनः नापजाँच गरी नयाँ पुर्जा वितरण गरिएको छ । जलेर नष्ट भएको १६ वर्षपछि लालपुर्जा हातमा पाउँदा छत्रदेव गाउँपालिका–३ बल्कोटका स्थानीय हर्षित भएका छन् । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।

देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नापी गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो । लालपुर्जा पाउँदा भुसालसँगै स्थानीय खुसी देखिन्थे । विशेष नापी कार्यालय अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको वडा नम्बर ३ बल्कोटका १ हजार १ सय दुई घरधुरीको नयाँ जग्गाधनी प्रमाणपुर्जा तयार पारेको छ । उनीहरूको जग्गाधनी वितरण मंगलबारबाट प्रारम्भ भएको छ । बल्कोटमा लालपुर्जा वितरण गर्दै प्रदेश सभा सदस्य चेतनारायण आचार्यले देशमा क्रान्ति गर्न र गणतन्त्र स्थापनाका लागि लडेको युद्धमा लालपुर्जा पनि जलेको र अहिले पुनः नापी गरेर सबैलाई बुझाउन पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले अब जग्गाधनी प्रमाणपत्र हातमा पाएसँगै बैंकबाट ऋण पाउनका लागि सजिलो हुने बताए । जग्गाधनी नहुँदा विकास निमार्णमा समेत कठिनाइ भएकोमा अबदेखि सहज हुने बताए ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले छिटोछरितो जग्गाधनी दर्ता भएकाले विशेष नापी कार्यालयलाई धन्यवाद दिए । उनले जग्गाधनी दर्ता सुरक्षित साथ राख्न घरधुरीलाई आग्रह गरे ।