कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६
370

अर्थमन्त्री डा. युवराज खतिवडा वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउन लागेको बताएका छन् । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनसँग बुधबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा क्रममा उनले वैदेशिक नीति सहज बनाउन लागेको बताएका हुन् । मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पारे ।
नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिबारे भएको छलफलमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए । बेलायती सरकार द्विपक्षीय दातृ निकायमध्ये सबैभन्दा ठूलो दातृ निकाय भएको भन्दै उनले आगामी दिनमा पनि सहायता निरन्तरता रहने आशा व्यक्त गरे ।
भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्तिसम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराउँदै नेपाल संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरे ।