कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
1681

ताप्लेजुङको तमोर नदीबाट १२ अर्ब लगानीमा उत्पादन हुने ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । सन् २०२२ को जुलाईसम्म आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने गरी काम सुरु गरिएको हो ।
योजनाको निर्माण चाइनिज कम्पनी झिझोङ फस्ट हाइड्रोले लिएको छ । २५ प्रतिशत स्वलगानी र ७५ प्रशिशत ७ वटा बैंकको लगानी रहेको यो आयोजनामा कम्तिमा एक सय जना चाइनिज कामदार कार्यरत छन् । उत्तिकै संख्यामा नेपाली कामदारसमेत संलग्न छन् । मध्यतमोर जलविद्युत् आयोजनाका संयोजक डा. मणिराज पोखरेलका अनुसार कम्पनीलाई १ हजार २ सय ८१ दिनको कार्यतालिका बुझाइएको छ । यो कार्यतालिका डेढ महिनाअघि कम्पनीलाई बुझाइएको हो । साप्ताहिक समीक्षा बैठकमा कामको प्रगतीमा सन्तुष्टि पाइएको छ ।
२ सय ७७ मिटर लामो इन्पेक्सन सुरुङमध्ये करिब १ सय ६० मिटर सम्पन्न भएको छ । यसैगरी करिब ३ सय अडिट सुरुङमार्गको ३० प्रतिशत बढी काम सम्पन्न भएको छ । इन्पेक्सन र अडिटका लागि बन्ने सुरुङमार्गको उचाइ र चौडाइ समान हुनेछ । यसका लागि ४.९ मिटर तथा हेडबक्सका लागि बन्ने सुरुङमार्गको उचाइ र चौडाइ समान ६.५ मिटरको हुने भएको छ । यी वाहेक बाँकी छुट्टाछुट्टै २ वटा ३ सय मिटरका सुरुङमार्ग निर्माणको काम बाँकी रहेको आयोजनाका भूगर्भविद् प्रविण तुम्बापोले जानकारी दिए । बर्खायाममा बढ्ने तमोर नदीको बहावले निर्माण कार्यमा कुनै समस्या नहुने भूगर्भविद् तुम्बापोले बताए । जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवा र वडा नं. १० को फुरुम्बोस्थित मित्लुङ क्षेत्रमा संरचना निर्माणको काम भइरहेको छ । जनसम्पर्क अधिकृत करण गौतमका अनुसार आयोजनाको मुहानस्थलमा हेडबक्सको काम पनि जारी छ । जनसम्पर्क अधिकृत गौतमले भने, “बेस तयार बनाएका छौं । वर्खायामअगावै हेडबक्सको इन्टेक पार्टस राख्न काम सायद सक्छौं ।”
फक्ताङलुङ गाउँपालिका–१ सावादिन र मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा मुख्य संरचना क्षेत्र पर्छ । फुरुम्बुस्थित मित्लुङमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण कार्य जारी छ । तमोरको पानी करिब ३४ सय मिटरको सुरुङमार्गमार्फत खोक्लिङको थुम्बाबेसीमा निर्माण हुने विद्युत्गृहमा पु¥याइनेछ । उत्पादित विद्युत् आयोजनाको स्वीचयार्डदेखि करिब १२ किलोमिटर लामो २२० केभीए प्रसारण क्षमताको प्रसारण लाइनमार्फत लगिनेछ । जुन मैवाखोला गाउँपालिका–२ स्थित ढुंगेसाँघुमा प्रस्तावित नेपाल विद्युत् प्राधिकरणको ‘ढुंगेसाँघु सवस्टेसन’ पु¥याएर जडान गर्ने आयोजनाको तयारी छ । सुरुवातमा ५४ मेगावाट उत्पादन गर्ने गरी तयारी थियो । यद्यपी निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम अध्यनमार्फत पाइएपछि आयोजनाको हेडबक्स परिवर्तन गरिएसँगै थप १९ मेगावाट थप भएकाले उत्पादन क्षमता ७३ मेगावाट पुगेको हो । प्रकोपको जोखिम पाइएपछि बातावरणीय प्रभाव मूल्यांकन अध्ययन गर्न जनसंख्या तथा वातावरण मन्त्रालयले सहमति दिएपछि आयोजनाले गत आर्थिक वर्षबाट प्रक्रिया थालनी गरेको हो । आयोजनाका मुख्य प्रवद्र्धक सानीमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिका कार्यकारी निर्देशक डा. सुवर्णदास श्रेष्ठले स्थानीयको राय बमोजिम र सरोकारवालको सुझावका आधारमा कामले गति लिएको बताए । मध्यतमोर जलविद्युत् आयोजनाको वातावरणीय तथा इन्जिनियरिङ परामर्शदाता कम्पनी सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिले वातावरण संरक्षण नियमावली २०५४ बमोजिमको प्रतिवेदनमा स्थानीयबासीको राय समावेश थियो ।

हेर्न आउनेलाई रोक्नै मुस्किल !
यसैबीच निर्माणाधिन आयोजनास्थल अवलोकन गर्न आउनेको व्यवस्थापन गर्न आयोजना पदाधिकारीलाई कठिन बनेको छ । डा. पोखरेलका अनुसार कतिपय स्थानीयले आफूहरूकै जग्गामा बनेको आयोजना अवलोकन हेर्न पाउनुपर्ने जिकिर गर्ने गरेका छन् । विभिन्न विद्यालयले समेत विद्यार्थीलाई अवलोकन गराउनका लागि सम्पर्क गर्ने गरेको डा. पोखरेलले बताए । उनले भने, “आयोजनास्थलमा स्वास्थ्य र सुरक्षा जोखिम हुन्छ । विद्यार्थी तथा अरुलाई पनि हुँदैन भनेका छौं ।” स्थानीयसँग घुलमिल भएर कार्यसम्पादन गर्नुपर्ने भएकाले कतिपयले गर्ने विनम्रतापूर्वकको अनुरोधले साह्रै असजिलो भएको उनले अनुभव सुनाए ।

देवराज गुरुङ