कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
240

नेपालको विकासको गति कतिसम्म सुस्त छ भन्ने हेर्न धेरै टाढा जानु पर्दैन । विराटनगरको चक्रपथको निर्माणलाई हेरे पुग्छ । हुन त एउटै पुलको पटकपटक शिलान्यास हुने गरेको छ मुलुकमा । चार पटकको शिलान्यासपछि बल्ल निर्माण हुन थालेको छ झापास्थित मेची पुल ।
विराटनगर चक्रपथको हालसम्म ३४ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । चक्रपथको लम्बाई ४२ किलोमिटर छ । विराटनगर–१४ मा घरहरू परेका कारण ट्रयाक खोल्न अवरोध भएको छ भने झोराहाट क्षेत्रमा स्थानीयले अदालतमा मुद्दा हालेर काममा अवरोध पुरयाएका छन् । जग्गा विवादका कारण ट्रयाक खोल्न समस्या भएको सहरी विकास तथा भवन निर्माण कार्यालय प्रदेश–१ ले जनाएको छ । विराटनगरलाई वृहत बनाउन दुई दशक पहिले योजना ल्याइएको भए पनि अझैसम्म उद्देश्यअनुसारको काम अघि नबढेको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रामसुवरण चौधरीले बताए ।

विराटनगर चक्रपथको हालसम्म ३४ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । चक्रपथको लम्बाई ४२ किलोमिटर छ ।


भौतिक योजना मन्त्रालय मातहत रहने गरी सरकारले २०५४ सालमा सुरू गरेको योजना सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय हुँदै प्रदेश सरकार मातहतमा आइपुगेको छ । तर, कुनै पनि मन्त्रालयले चक्रपथसहितको यो योजनालाई कार्यान्वयनमा लैजान ध्यान दिएको पाइँदैन । तत्कालीन विराटनगर उपमहानगरपालिका र आसपासका कटहरी, भौडाहा, वैजनाथपुर, झोराहाट, लखन्तरी, हात्तीमुडा र टंकीसिनुवारी गाविसलाई जोड्ने गरी जग्गा विकास योजनासहितको चक्रपथ निर्माणको काम दुई दशक बितिसक्दा पनि अझै गति लिन सकेको छैन । सरकारको योजना नै नभएका स्थानहरू सहरीकरण भइसके पनि दुई दशकअघि ल्याएको योजना अझै सरकारले कार्यान्वयन गर्न सकेको छैन ।
पुरानै योजना कार्यान्वयन गर्न नसकिरहेका बेला विराटनगरलाई बृहत बनाउने भन्दै प्रदेश सरकारले हालै मात्रै सुनसरी र मोरङका १८ स्थानीय तहलाई जोडेर बृहत्तर विराटक्षेत्र निर्माण गर्ने योजना अघि सारेको छ । विराटनगर महानगरपालिकाले पनि विराटनगर–१९ को २ हजार बिघा जमिनमा ल्याण्ड पुलिङका लागि डीपीआर तयार पारिरहेको छ । स्थानीय सरकार र प्रदेश सरकार नयाँ योजना अघि सार्न उद्दत भए पनि पुराना योजना सम्पन्न गर्न भने खासै ध्यान दिएको पाइँदैन । प्रदेश सरकार मातहत आइसकेको योजना भएकाले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विराटनगर चक्रपथ निर्माण र चक्रपथ वरिपरि जग्गा विकास गरी सहरीकरण गर्ने योजना कार्यान्वयनलाई प्राथमिकातामा राख्न स्थानीयको सुझाव छ । “सरकारले नयाँ योजना ल्याउनुभन्दा पुराना योजना सम्पन्न गर्न ध्यान दिनु जरुरी रहेको छ,” नागरिक समाजका अगुवा रामबाबु दाहालले भने, “हाम्रोमा शिलान्यास गर्ने मिति निश्चित हुन्छ तर त्यसको उद्घाटनको मितिको टुंगो हुँदैन । हाम्रै छिमेकी मुलुक चीनले १० वर्षको अवधिमा २५ हजार किलोमिटर दू्रत गतिको रेलको ट्रयाक बनाएको छ तर हाम्रोमा ४२ किलोमिटरको ट्रयाक २२ वर्षमा पनि खुल्दैन । यसलाई विडम्बना नै मान्नुपर्छ ।”
लामो समयदेखि चक्रपथ निर्माणको आशा गरेका स्थानीय निराश भइसकेको उनको भनाइ छ । “विराटनगर चक्रपथ बनाउन सरकारले नै बेवास्ता गरिरहेका कारण स्थानीयले आशा गर्ने ठाउँ नै देखिँदैन,” झोराहाटका उमेश लुइँटेलले भने ।
सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार हालसम्म विराटनगर चक्रपथको ८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । चक्रपथ निर्माणले गति नलिएपछि कटहरी क्षेत्रमा ट्रयाक खोलेको ४ किलोमिटर सडकमा स्थानीयले खेती गरिरहेको चौधरीले जानकारी दिए ।
“ट्रयाक खोलेर सडक निर्माणको काम नगरेपछि स्थानीयले ४ किलोमिटर सडक खेत बनाइसके छन्,” चौधरीले भने, “अन्य ट्रयाक खोलिसकेको सडक पनि अतिक्रमण हुने सम्भावना बढेको छ ।” सार्वजनिक निजी साझेदारीमार्फत सरकारले स्थानीयको जग्गा लिएर चक्रपथ बनाउने र सडकका दुवैपट्टी एक सय मिटर जग्गा प्लानिङ गरी स्थानीयलाई नै फिर्ता गर्ने योजना अघि सारेको थियो ।

बजेटको सधंै कमी
ट्रयाक खोजिसकेको सडकमा ग्राभेल, नाला र कालोपत्रे गर्न बजेटको कमी देखिएको छ । इन्जिनियर चौधरीका अनुसार यसै वर्षमात्र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयोजना भए पनि वार्षिक रुपमा प्राप्त हुने न्यून बजेटका कारण काम गर्न समस्या देखिएको छ । “अर्बौं बजेट लाग्ने योजनालाई वार्षिक ४–५ करोड उपलब्ध गराउँदा काम गर्न समस्या भएको हो” इन्जिनियर चौधरीले भने, “बजेट हुने हो भने ट्रयाक खोलेको सडकमा ग्राभेल, नाला र कालोपत्रे गर्न सकिन्थ्यो ।”
प्रदेश मातहत हस्तान्तरण भएर आएको योजनालाई प्रदेश सरकारले प्राथमिकता दिएमात्रै कार्यान्वयनमा आउन सक्ने उनले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा चक्रपथ निर्माणका लागि ४ करोड रुपैयाँमात्रै बजेट प्राप्त भएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारसँग ९ करोड बजेट माग गरिएको चौधरीले बताए ।