कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
418

सरकारले अस्ट्रियासँग ऊर्जामा सहकार्य गर्नेबारे समझदारी गर्ने भएको छ । नेपाल र अस्ट्रियाबीच ऊर्जा क्षेत्रमा लगानीसहित ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्ने गरी समझदारी हुन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले ऊर्जा मन्त्री बर्षमान पुनको नेतृत्वमा जाने टोलीले अस्ट्रियासँग समझदारी गर्न लागेको जानकारी दिए ।
मन्त्रालयका अनुसार, २२ मे अर्थात ८ जेठमा अस्ट्रियामा समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना छ । अस्ट्रियाका एन्ड्रिज हाइड्रोलगायतका कम्पनीले नेपालमा जलविद्युत्सँग सम्बन्धित उपकरणहरू दिए पनि जलविद्युत्मा लगानी भने गरेका छैनन् । मन्त्रालयले भने कतिपय अस्ट्रियामा रहेका कम्पनीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेको तथा जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने अवस्था रहेकाले समझदारी गर्न लागेको जनाएको छ ।

ऊर्जा मन्त्री पुनसहितको टोली पेरिसमा हुने विश्व ऊर्जा सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्तानसमेत गरेको छ । सम्मेलनमा मन्त्री पुनले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्रीसहित विद्युत् विकास विभागका महानिर्देशक मधु भेटुवाललगायतको टोलीले पेरिसको सम्मेलनमा भाग लिएपछि अस्ट्रिया पुगेर समझदारी गर्ने कार्यक्रम छ ।
नेपालले छिमेकी राष्ट्र चीन, भारत, बंगलादेशलगायतसँग ऊर्जा सहकार्यको समझदारी गरिसकेको छ । भारतसँग त ऊर्जा व्यापार सम्झौता (पीटीए) समेत भइसकेको छ । चीन र भारतले नेपालमा विभिन्न जलविद्युत् आयोजनामा लगानीसमेत गर्दै आएका छन् । बंगलादेशले पनि सुनकोशी दोस्रो, तेस्रोलगायतका आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ भने सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत् किन्ने प्रस्तावसमेत गरिसकेको छ ।