रासस
बुधवार, जेठ १, २०७६
259

उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य सुरु भएको छ ।
नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झन्डै १० करोड बजेटबाट यस क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरेर धमाधम बाँध निर्माण कार्य सुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले बताए । अहिले पहिलो चरणमा गाईघाटस्थित त्रियुगा नदीको आर्यघाट क्षेत्रबाट पुरानो गाईघाटको बोटेटोलसम्मको २०० मिटर बाँध निर्माणको लागि उपभोक्ता समिति गठन गरेर बाँध निर्माण कार्य सुरु भएको अध्यक्ष राईको भनाइ   छ ।

चौडाइ १९ मिटर र उचाइ तीन मिटरको उक्त बाँधमा पाँच मिटरको करिडोर सडकसहितको बाँध निर्माण कार्य सुरु गरिएको आर्यघाट बोटेटोल बाँध निर्माण उपभोक्ता समितिका सचिव लव ढकाल बताए । यस्तै बोटेटोलबाट तल्लो आर्यघाट हुँदै विषणपुरसम्मको तटबन्ध निर्माण गर्न अन्य उपभोक्ता समितिसमेत गठन गर्न लागिएको त्रियुगा नगरपालिकाले बताएको छ ।
दुई किलोमिटर बाँध निर्माण भएपछि गाईघाटको बसपार्कदेखि दुर्गाटोल, प्रतिभा टोल साधना टोल, बोटेटोल, बगरटोल, त्रिवेणी टोल र विषणपुर क्षेत्रका झण्डै तीन हजार जनता बसोबास गरेको क्षेत्र त्रियुगा नदीको कटानबाट सुरक्षित हुने भएको पनि त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ ।
बर्सेनि त्रियुगा नदीले यस क्षेत्रमा कटान गर्दै लगेपछि १० वर्षभित्रमात्र झन्डै २०० बिघा जग्गा कटान गरिसकेको छ भने सयौँ घर परिवारसमेत विस्थापित भइसकेका छन् ।