कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
93

सुख्खा पहिरो र पहराबाट ढुंगा झर्न थालेपछि लमजुङ सदरमुकाम बेसीशहरसँगै रहेको एक बस्ती जोखिममा परेको छ । विगत दुई वर्षदेखि ठूला–ठूला ढुंगा झरेर क्षति हुन थाले पनि अन्यत्र सर्ने विकल्प नहुँदा जोखिम मोलेर बस्न स्थानीय बाध्य भएका छन् ।

सदरमुकाम बेसीशहर बजारबाट पैदलै जाँदा १० मिनेटमा मस्र्याङ्दी नदी किनार पुग्न सकिन्छ । बेसीशहर–१०, बाँझाखेत मस्र्याङदी किनारको बस्ती विगत दुईवर्षदेखि निकै जोखिमपूर्ण बनेको छ । नदी किनारमा रहेका १० वटा घरको सानो बस्तीमा पहराबाट ठूलाठूला ढुंगा खस्न थालेपछि स्थानीय जोखिम मोलेर बस्न बाध्य भएका हुन् । बस्ती जोखिमको बारेमा सम्बन्धित निकायसँग हार गुहार माग्दा कतैबाट पनि सुनुवाइ नभएको स्थानीय सोभितकुमार श्रेष्ठले बताए । “ढुंगा झर्न थालेको दुई वर्ष भयो, सम्बन्धित निकायमा जानकारी गराएका छौँ” उनले भने, “तर अहिलेसम्म कोही हेर्नसमेत आएका छैनन् ।”

वर्खा लागेसँगै स्थानयमा पहिरोको त्रास बढ्छ । अघिल्लो वर्षबाट त बर्खाबाहेक पनि सुख्खा पहिरो झर्न थालेपछि स्थानीय झनै त्राहिमाम भएका छन् । सो क्षेत्रमा दशक अघिदेखिको बस्ती भए पनि ढुंगा खस्ने तथा सुख्खा पहिरो भने अघिल्लो वर्षबाट मात्रै सुरु भएको हो । जीवनभरको कमाईबाट सदरमुकाम नजिकै जग्गा किनेर दशक अघिदेखि घरजम गरेकालाई अन्यत्र विकल्प नहुँदा निकै समस्या भएको स्थानीय मिनाकुमारी श्रेष्ठले बताइन् । “अब आफ्नो जग्गा घर भनेकै यही छ, जाने ठाउँ छैन,” श्रेष्ठले भनिन्, “विकल्प खोजिदिने निकाय पनि भएनन् ।”

आइतबार साँझमात्रै पनि पहरोबाट ठूलो ढुंगा झरेर स्थानीय शम्भु श्रेष्ठको घर पूर्ण क्षति भएको छ । घरमा कोही नभएका बेला ढुंगा झरेकाले मानवीय क्षति हुन पाएन । ठूलाठूला ढुंगा झर्न थालेपछि केही स्थानीयले भने ढलान बार बनाएर घर जोगाउने प्रयास गरेका छन् । तर पहराबाट झर्ने ठूला ढुंगाले सुरक्षित अनुभूति गर्न नसकिएको भन्दै विकल्प वा उचित व्यवस्थापनका लागि सरकारले चासो दिनुपर्ने स्थानीय जानुका ढकालले बताइन् ।  

साविक बाँझाखेत गाविस रहेको सो मस्र्याङ्दी किनार क्षेत्र हाल बेसीशहर नगरपालिका–१० मा पर्दछ । बेसीशहर बजारक्षेत्रबाट निकै नजिक रहेको उक्तक्षेत्र सदरमुकामबाट पूर्वतर्फको मुख्यद्वार हो ।

नदीको किनार, शान्त वातावरण र जिल्लाको विभिन्न भागमा पुग्ने मुख्यद्वार भएकाले पनि उक्त स्थानमा व्यावसायिक चाप बढीनै हुने गरेको छ । तर पछिल्लो समय पहिरोको त्रास र जोखिम बढेपछि व्यवसाय र बस्ती स्थानान्तरण वा अन्य विकल्पको व्यवस्था गरीदिन सम्बन्धित निकायसँग स्थानीयको माग छ ।