होम साउद
बुधवार, जेठ १, २०७६
116


अछामको कमलबजारमा नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वी अछामका गाउँबस्तीलाई ११–३३ केभीए राष्ट्रिय प्रसारणलाइनको पहुँचमा ल्याउने उद्देश्यले निर्माण भइरहेको सवस्टेसनको पूर्वाधार निर्माण कार्य सुरु भएको ५ महिनामा झन्डै ८० प्रतिशत सम्पन्न भएको हो ।


सवस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले इनर्जेटिक नेपाल प्रालिसँग २०७६ जेठ २७ भित्र काम सम्पन्न गर्ने गरी २०७४ मंसिर २७ मा सम्झौता गरेको थियो । जग्गाको प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ गरेको कम्पनीले २०७५ पुष २० गते अर्थात भन्डै १३ महिनापछि मात्रै काम सुरु गरेको थियो ।


ढिलो गरी काम सुरु गरेको कम्पनीले ५ महिनाको अवधिमा (वैशाख मसान्तसम्म) कम्पाउण्ड निर्माणदेखि ४ कोठे स्टाफ क्वाटर, ४ कोठे कन्ट्रोल विल्डिङ, स्वीच यार्ड वनाउने काम करिब सम्पन्न गर्न लागेको कम्पनीका साईट इञ्चार्ज अम्वादत्त जोशीले जानकारी दिए । “दिनरात नभनी भवनको प्लास्टर गर्ने काम गरिरहेका छौं, यो सकिएपछि स्वीच आर्टको क्यावल ट्रेन्च (ईलेक्ट्रोनिक) वाहेक सबै काम सम्पन्न भइसक्छ ।”
छिटो विद्युत् बाल्नका लागि सरोकारवाला निकायबाट ताकेता र महत्वपूर्ण सहयोग मिलेकाले काम सुरु गरेको ५ महिनामै ८० प्रतिशत काम सक्न सफल भएको निर्माण कम्पनीका ईञ्जिनियर अरुणकुमार शाहले बताए ।


मजदुरहरूसमेत भारतबाट ल्याएर काम गरिरहेको कम्पनीले छोटो अवधिमै काम सम्पन्न गर्न लाग्दा यहाँका स्थानीय पनि निकै खुसी छन् । सवस्टेसन निर्माण कार्य धमाधम भैरहदा पूर्वी अछामका ४ स्थानीय तहका जनतामा उज्यालोका लागि आशा पलाएको कमलबजार नगरप्रमुख ओमप्रकाश बिष्टले बताए । उनले भने, “जग्गाको प्रक्रिया मिलाएर ढिलोगरी काम सुरु गरेको कम्पनीले काम एकदमै राम्रो गरेको छ, म आफैं हरेक हप्ता निर्माण स्थल पुगेर सुझाव दिने र ताकेता गर्ने गरेको छु ।”


निर्माणाधीन कमलबजार सवस्टेसनसम्मका लागि प्रसारणलाइनको काम पनि भैरहेको छ । कमलबजारदेखि गैरीटाँडसम्म र साँफेबगरदेखि कैलाशखोलासम्मको लाइन तान्ने काम धमाधम भइरहेको छ । बीचको खण्डमा पनि काम सुरु गर्न परामर्श भइरहेको मेयर बिष्टले जानकारी दिए ।
सुरुमा जग्गाको प्रक्रियाका कारण काम सुरु हुन ढिलाइ भए पनि अहिलेसम्मको प्रगति हेर्दा निकै राम्रो रहेको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका ईञ्जिनियर चिज गुरुङले जानकारी दिए । हालसम्मको कामको मूल्यांकन गरी टेण्डरको म्याद थप हुनसक्ने र ढिलोमा २०७६ चैत मसान्तसम्म सवस्टेसनको निर्माण कार्य सम्पन्न भइसक्नेमा आफूहरू विश्वस्त रहेको ईञ्जिनियरर गुरुङले बताए । निर्माण कम्पनीले सिभिलतर्फको काम सक्नैलाग्दा रनिङ बिल उठाउने क्रममा रहेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियामार्फत कमलबजार सवस्टेसनका लागि ७ करोडमा ठेक्का सम्झौता गरिएको छ ।


यस्तै सुदूरपश्चिमका अन्य ४ स्थानमा पनि सवस्टेसन निर्माण कार्य भइरहेको छ भने ३ ठाउँमा सवस्टेसनका लागि टेण्डर प्रक्रिया चलिरहेको छ । निर्माण भइरहेकोमा बझाङको बागथला र चैनपुर, डोटीको मौवा र दार्चुलाको थालिगाड सवस्टेसन हुन् भने बैतडीको मेलौली र पाटन तथा बाजुराको मार्तडीमा सवस्टेसनका लागि टेण्डर प्रक्रिया चलिरहेको छ ।

सातामा धेरै पढिएको