घनश्याम पौडेल
मंगलबार, बैशाख ३१, २०७६
546

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको दृश्यावलोकनका लागि पाणिनी बहुमुखी क्याम्पस आसपासको क्षेत्र उपयुक्त छ । क्याम्पससम्म पुग्न शान्तिबगैँचाबाट करिब ५०० मिटर बाटो छ । यातायातका साधनमा २ मिनेट र हिँडेर गएमा पाँच मिनेटमा क्याम्पस पुग्न सकिन्छ । क्याम्पस आसपासको क्षेत्रबाट सन्धिखर्क बजार स्पष्टरूपमा देखिन्छ ।
चुत्रावेशी बजार, सन्धिखर्क मेनरोड, बैंकरोड, लदाम, बसपार्क, हललाइनलगायत अर्घा, किमडाँडा तथा कुरको सबै भूभाग हेर्न कुनै भ्यूटावर आवश्यकता पर्दैन । सदरमुकाम सन्धिखर्कको बजार हेर्नकै लागि भ्यूटावर आवश्यक नै नभएको बुद्धिजीवीहरू बताउँछन् ।

तर सन्धिखर्क नगरपालिकाको असारमा बसेको नगरसभाको बैठकले ४० लाख रूपैयाँ विनियोजन गरेर भ्यूटावर बनाउने निर्णय गरेपछि काम अन्तिम चरणमा पु¥याएको छ । आव २०७५÷७६ मा सम्पन्न गर्ने गरी ठेक्कामा बन्न लागेको ४ तलाको भ्यूटावरको काम अन्तिम चरणमा पुगेको नगरपालिकाका सूचना अधिकारी नारायण पोख्रेलले बताए । “भ्यू टावर बनाउन अनुभव छैन, पहिलो पटक बनाउँदै छौं,” उनले भने, “राम्रो बनाउन १ करोड भन्दा बढी लाग्छ, तर भ्यु टावर छ, भन्नका लागि अहिले सामान्य अवस्थाको बनाइएको हो ”
उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ पनि यहाँ बनाएको भ्यूटावरप्रति सन्तुष्ट छैनन् । “सन्धिखर्क चुत्रावेशी बजारबाट करिब १ किलोमिटर नजिक कुरको डाडाँमा बनेको भ्यूटावर भन्दा डाँडोबाटै बजार सफासँग देख्न सकिन्छ,” उनले भने । भ्यूटावरभन्दा माथी अग्लो डाँडो छ । भ्यूटावरले बजार हेर्ने की माथि डाँडोमा गएर भ्यूटावर हेर्ने हो, टुंगै पाउन नसकिएको उनले बताए । “भ्यूटावरले बजार हेर्नभन्दा पनि भ्यूटावर छ भन्नका लागि बनाइएको जस्तो लाग्छ,” अध्यक्ष श्रेष्ठले भने । लगानीको सदुपयोग गर्ने गरी भ्यूटावर निर्माण गरिएको भए राम्रो हुने अन्य स्थानीयको भनाइ छ ।
नगरप्रमुख कमला भुसालले भ्यूटावरको शिलान्यास गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सुपादेउराली मन्दिरमा आएका पर्यटक नरपानी हुँदै सन्धिखर्क ल्याउने नगरपालिकाले लक्ष्य लिए पनि प्रतिफल जहाँको तहीँ छ । सन्धिखर्कबाट अर्घा भगवती मन्दिरसम्म केबलकार, खाँचीकोट मन्दिरसम्म केवलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना चुनावी घोषणापत्र बने । तर, ती योजना अलपत्र परेका छन् ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले बजार अवलोकन गर्न भ्यूटावर निर्माण गरिएएको बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई सदरमुकामको दृश्यावलोकनका साथै व्यापार–व्यवसायमा वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।