सागर परियार
मंगलबार, बैशाख ३१, २०७६
377

कर्णालीका केही निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेका छन् । कर्णाली राजमार्गमा दशक पहिलेदेखि निर्माण थालिएका पुल अलपत्र परेका हुन् ।
दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख रूपैयाँ लागतको घट्टेखोलामा पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भएको थियो । सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर ८ वर्ष वितिसक्दा पनि अधुरै छ ।
त्यस्तै, दैलेखको झक्सीखोला पक्की पुल निर्माणका लागि हालसम्म पाँच जना ठेकेदार फेरिएको पाइएको छ । जसको सम्झौता दुई वर्षभित्रै सक्ने भनेर २०६७ सालमा भएको थियो । तर, अहिलेसम्म अधुरै छ । दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा साढे ४ करोड रूपैयाँभन्दा बढी लागतमा २०६८ सालमा बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । साथै सरुवार सुनकोसी र कवीर जेभी कम्पनीले पनि बीचमै पुलको काम छाडेर भागेको छ ।
कम्पनीले बीचमै काम छोडेपछि पुल निर्माण कार्य अलपत्र परेको छ । यसका साथै कर्णाली राजमार्गको विहानी खोला खल्लाघाटबाहेक दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्गअन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, बालीगढ, सिम्ला खोला, किटुखोला, शाही खोलामा वर्षौ पहिलेदेखि निर्माण भइरहेका पक्की पुल अहिले पनि अलपत्र अवस्थामा छन् ।
दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले कामै सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले सो कम्पनीलाई कालोसूचीमा राखिसकेको डिभिजन प्रमुख बेलबहादुर भुजेलले बताए ।

एकै आयोजनाका पाँच ठेकेदार
नेपालको विकास निर्माणको गति हेर्दा यो प्रवृत्ति माथिदेखि तलसम्म बिग्रेको छ । कुनै पनि आयोजनाको निर्माण कम्पनी एउटै हुन्छ । तर कर्णाली राजमार्गअन्तर्गतको दैलखको झक्सीखोला पक्की पुल निर्माणका लागि हालसम्म पाँच जना ठेकेदार फेरिएको पाइएको छ ।
झन्डै ५ करोड रूपैयाँ लागतको पक्कीपुल एक वर्षमा निर्माण गर्ने सम्झौता सात वर्ष पहिले भएको पाँचौ ठेकेदार पूर्णप्रसाद उपाध्याय बताए । “म पाँचौं ठेकेदार हुँ, मभन्दा अघि चार कम्पनी गए,” उनले भने, “समयमै रकम भुक्तानी नभएको कारण देखाउँदै अघिल्ला ठेकेदार भागेको जानकारी आएको छ ।” सात वर्ष पहिले निर्माण सुरु भएको झक्सीखोला पुलमा अहिले स्लावहरू हालिएको छ । उपाध्यायले भने, “प्रदेश सरकारले लगानी गर्छ भनेर पाँचौ ठेकेदारका रूपमा आउँदा अहिलेसम्म कतैबाट पुल निर्माणको पहल देखिएको छैन ।” उनले अघिल्ला चार ठेकेदारले कति भुक्तानी लिएका थिए र कति बाँकी थियो केही जानकारी नभएको बताए ।
कर्णालीका पुलमा गरिएको लगानीको हिसाव केन्द्रीय र प्रदेश सरकारसँग छैन । आयोजनामा महिनापिच्छे ठेकेदार फेरिने, सम्झौताअनुसार काम नगर्ने, निर्माण कम्पनी फरार हुने गरे पछि ठेकेदारलाई कारबाही गर्न नसक्दा कर्णालीका पक्की पुल अलपत्र भएको दैलेखका स्थानीय नैनबहादुर शाहीले बताए । एकै आयोजनाका पाँच ठेगेदार आएर पनि पुल निर्माण हुन नसक्नु दुुखद पक्ष हो । प्रदेश सरकारले सपना बाँड्दै हिँड्नुभन्दा काम गर्नुपर्ने उनको सुझाव छ ।

सरकारले नियमन गर्न सकेन
सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधिअनुसार सार्वजनिक सुनुवाइ, लेखापरीक्षण, जन श्रमदानलगायत कुरामा सुरुदेखि चासो राख्नु आवश्यक छ । जुन कुरा कर्णालीका पक्की पुल निर्माणमा सरकारले जिम्मेवारी पुुरा गर्न सकेन । जसका कारण दशकौंदेखि पुलहरू अलपत्र रहेका छन् ।
जुम्लाका कालीबहादुर बुढाले अलपत्र परेका निर्माणाधीन पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने बताए । तर सरकारले यसमा चासो नदिएको भन्दै उनले आक्रोस व्यक्त गरे । सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख बेलबहादुर भुजेलले भने याक्थुमहार गोल्डेन जेभी, बिटी धर्मेन्द्र १४ जेभी कम्पनीलाई कालोसूचीमा राखिसकेको बताए । बीचमै ठेकेदार फरार भएपछि निर्माण अलपत्र भएको उनको भनाइ छ । अब पुल निर्माणको जिम्मा प्रदेश सरकारले लिनुपर्ने उनले बताए ।
कर्णाली राजमार्गका सानाठूला पुल निर्माणका लागि विश्व बैंकले दिएको ७६ करोड पनि काम नहुँदा थन्किएको डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
डिभिजन अञ्चल कार्यालय जुम्ला र कामको गुणस्तर भएर नभएको अनुगमन गर्न खटिने प्राविधिकहरूको लापरबाहीका कारण पनि पुल निर्माणमा ढिलाइ भएको आठबीस नगरपालिका दैलेखका अर्जुन शाहीको आरोप छ ।

सातामा धेरै पढिएको