गोपाल पोखरेल
मंगलबार, बैशाख ३१, २०७६
597

पिउन र खेतीका लागि पानीको चरम अभाव भएपछि उदयपुरको रौतामाई गाउँपालिका–३ आदमाराका एक दर्जन परिवार बसाइँ सरेका छन् । पिउनका लागि तीन घन्टाको बाटो हिँडेर पानी बोक्नुपर्ने समस्या र खेतीपातीका लागि पानीको कुनै विकल्प नभएपछि एक बर्षको अबधिमा उनीहरू बसाइँ हिँडेका हुन् ।
पानी अभावका कारण स्थानीय युवराज बस्नेत, गणेश बस्नेत, केदार भुजेललगायतका १२ घरपरिवारले आफ्नो पुरानो थातथलो छाडेर हिँडेको स्थानीय स्थानीय पदम कार्कीले बताए । “खेतीपाती गर्न पानी अभाव हुँदा बसाईं हिँड्ने क्रम बढेको छ” उनले भने, “पिउनकै लागि पनि तीन घण्टा लगाएर सुनकोसी नदीको पानी बोकेर उकालो चढ्नुपर्ने अवस्था छ ।” सुनकोसीको उकालो पानी बोक्ने काम गाउँका अधिकांस पुरुषले गरिरहेको उनले बताए ।

“एउटा गाग्री डोकोभित्र, अर्को दुई हातले बोकेर एकैपटक दुई गाग्री पानी बोकेर बिसाउँदै घर पुग्दा तीन घन्टा लाग्छ,” कर्णबहादुर बुढाथोकीले भने, “यस्तो दुःख सहन नसकेर उनीहरू बसाइ हिँडे ।” यस्तै अवस्था रहिरहे गाउँमा रहेकाहरूको पनि जिविका नचल्ने उनले सुनाए ।
बुढाथोकीका अनुसार आकासे पानीमा निर्भर रहेका रौतामाई–३ का आदमारा, बेलबोटे, विमिरे, चनौटे, लामिवगर, सालघारी, भर्लेनी, दायुमलगायतका आसपासका बस्तीमा तीन वर्षदेखि पानी परेको छैन । पानी अभावका कारण खेती नभएपछि ती बस्तीबाट बसाइ सर्नेको संख्या बर्सेनि बढिरहेको छ ।
“गत वर्ष रोपेको मकैबाट एक दानासमेत फल लिन सकिएन,” कार्की भन्छन्, “पसाउने बेलामा पानी नभएपछि मकैका बोट खेतमै भस्याकभुसुक मरे ।” पानी अभावकै कारण एक दशक यता अन्नबाली उब्जाउमा कमी आएको र गतवर्ष त शून्य नै भएको उनले बताए ।
पानीकै कारण खेतबारीमा उब्जाउ हुन छाडेपछि बसाइसराइ गर्ने र गाउँ छाडेर हिँड्ने क्रम बढेको वडाध्यक्ष दुर्गाराज खड्काले जानकारी दिए । “यस्तै अवस्था रहिरहने हो भने एकदिन पूरै गाउँ रित्तो हुन्छ,” उनले भने, “खेतीपाती नै नभएपछि के खाएर गाउँमा बस्नु ?” उब्जाउमा कमी आएपछि कतिपय गाउँलेले शहर बजारबाट बेसाहा बोकेर घरपरिवार चलाउँदै आएको उनले बताए ।
बसाई हिँड्नेहरूले पनि रित्तो हात जानु परेको स्थानीयको भनाई छ । “यस्तो उराठलाग्दो रुखो जग्गा कसले किन्ने र पैसा दिने ?” चन्द्रबहादुर भुजेलले भने, “किनबेच हुने अवस्था नभएकाले बसाइ जानेहरूले त्यत्तिकै छाडेर जाने गरेका छन् ।”
पानीको विकराल अवस्थाका कारण खेती हुन छाडेपछि गाउँ रित्तिन थालेको गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बताए । “गाउँपालिकाको बजेटले सबै समस्याको हल गर्न कठिन छ,” उनले भने, “केन्द्र र प्रदेश सरकारबाट सिँचाइ र खानेपानीको योजना सञ्चालन भए गाउँ रित्तिने क्रम अन्त्य हुने थियो ।” गाउँपालिकाले पानी अभाव भएका बस्तीका खेतबारीमा बैकल्पिक खेती गर्ने गरी कार्यक्रम तयार गर्न लागेको उनले बताए ।


सातामा धेरै पढिएको