लक्ष्मण ढुंगाना
सोमवार, बैशाख ३०, २०७६
210

बाँकेको दुर्गम मानिने राप्तीपारिका बस्तीलाई जोडने एकमात्र विकल्पको रूपमा रहेको राप्ती नदीमा हचुवाको भरमा पुल निर्माण भइरहेको छ । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माणाधीन राप्तीपुलको गलत डिजाइनका कारण हचुवाको भरमा आरसीसी मोटरेवल पुल निर्माण भइरहेको हो ।
राप्ती नदीमा हाल सञ्चालनमा रहेको स्टिल ट्रस पुलदेखि पश्चिमतर्फ नदीले धार परिवर्तन गरी पानीको सतह बढेपछि २०७१ सालमा ५० मिटर लम्बाइको आरसीसी मोटरेबल पुल निर्माणको लागि डिजाइन गरिएको थियो । सो डिजाइन स्वीकृत भएर नदीको पूर्वी–मध्य किनारामा पुल निर्माण थालिएको हो । यसो हेर्दा हास्यास्पद जस्तो दृश्य देखिने करिब १ किमि लम्बाइको नदीमा हचुवाको भरमा ५० मिटरमात्रै पुल निर्माण गरिनुले पुलको डिजाइनमा गम्भीर त्रुटिका साथै सरकारी योजनामा हुने लापरबाही र खेलवाड प्रष्ट हुन्छ ।

२०७१ साल असारदेखि भैरव कन्ट्रक्सनले निर्माण गरिरहेको उक्त पुलको ९० प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजना नेपालगन्जले जनाएको छ । पटक पटक म्याद थपेर २०७६ जेठ मसान्तमा निर्माण सक्ने लक्ष्य राखिएको पुल ४ करोड १२ लाखको लागतमा निर्माण भइरहेको छ । जसमध्ये निर्माण कम्पनीले २ करोड ८४ लाख रुपैयाँ भुक्तानी लिइसकेको बताइएको छ ।
हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख युवराज पोखरेलका अनुसार अहिले निर्माण भइरहेको पुल त्यहाँको पानीको सतहभन्दा ३÷४ गुणा सानो छ । “त्योबेला कसरी डिजाइन गरियो त्यो थाहा भएन,” उनले भने, “तर करिब १ किलोमिटर आवश्यक पर्ने स्थानमा अहिलेको ५० मिटर पुल बनाउनुको कुनै अर्थ छैन ।” हालकै अवस्थामा पुल निर्माण गरिँदा कुनै अर्थ नरहने भएपछि आफूहरूले थप पुल चाहिने भनेर हुलाकी राजमार्ग निर्देशनालयमा माग गरेको उनी बताउँछन् । हाल निर्देशनालयले उक्त पुलको पूर्व र पश्चिममा जोडेर थप पुल निर्माण गर्ने गरी डिजाइनको काम गरिरहेको उनले जानकारी दिए । “जसमध्ये सर्भे र माटो परीक्षणको काम भइसकेको छ,” उनले भने, “हाल डिजाइनको काम भइरहेको र डिजाइन स्वीकृत भएर टेण्डर भएपछि काम सुरु हुन्छ ।”
स्रोतका अनुसार हुलाकी आयोजना विभागले उक्त पुल डबल लेन बनाउने या सिंगल लेन भन्नेबारे डिजाइन तयार गरिरहेको छ । त्यस्तै प्रि स्टेस या स्टिल ट्रस प्रविधिको बनाउने भन्ने गृहकार्यमा विभाग लागेको र सर्भे र माटो परीक्षणको रिर्पोट भेरियसनका लागि पठाइएको छ । यसअघि ५० मिटरको पुल निर्माण हुन थालेको सो नदीमा हाल करिब ११ सय मिटर लम्बाइको पुल निर्माणका लागि सर्भे भएको बताइएको छ ।
यसरी हचुवाको भरमा योजना बनाउँदा एकातिर राज्यस्रोतको ठूलो धनराशी दुरुपयोग हुने गरेको छ भने अर्कोतर्फ समयको बर्बाद । स्थानीय रामकृपाल थारुले यो पुलले सरकारलाई गिज्याइरहेको बताउँदै सरकारको गम्भीर कमजोरी मात्र नभई सरकारी योजनामा खेलवाड गरेको बताए । यसले एकातिर सरकारको लगानी खेर गएको छ भने अर्कोतर्फ यहाँका जनताले समयमै पुल हुँदै आवत जावत गर्न नपाउने उनको भनाइ छ ।
राप्ती नदीमा पुल नबनेकै कारण राप्तीपारिको नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका करिब १ लाख बढी जनता बर्खायाममा सदरमुकाम नेपालगन्जसम्म आउजाउ गर्न भारतीय बाटोको प्रयोग गर्न बाध्य हुने गरेका छन् । हुलाकी सडक निर्माण हुँदै गर्दा केही स्थानीयमा आशा पलाए पनि यही पुलका कारण बर्खायाममा निकै सास्ती हुने गरेको राप्तीसोनारी–७ का वडाध्यक्ष राम लखन थारुले बताए । यसरी हचुवाको भरमा योजना बनाएर नागरिकको जीवनस्तर थप जटिल पार्ने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।


सातामा धेरै पढिएको